आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रलाई २-० ले हराउँदै जावलाखेल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रलाई २-० ले हराउँदै जावलाखेल विजयी

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०८२, बुधबार

    पाेखरा, २८ माघ । जावलाखेल युथ क्लबले मच्छिद्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

    पोखरा रंगशालामा मंगलबारदेखि सुरु प्रतियोगिताको दोस्रो दिन बुधबार जावलाखेलले पहिलो हाफमा गोलको खडेरी भए पनि दोस्रो हाफमा अग्रता लिएको हो। खेलको ५४ औं मिनेटमा विदेशी खेलाडी निकोलस ओदाने हमिल्टनले गोल गरेका हुन्। उनले विपक्षी खेलाडीबाट बल खोस्दै बललाई पोस्टको दिशा दिएका हुन्। प्रतियोगितामा उनी नै प्लेयर अफ दी म्याच घोषित भए।

    त्यसै गरी, खेलको ६६ औं मिनेटमा जावलाखेलले गोलअन्तरले दोब्बर पार्न सक्यो। उसका लागि विदेशी खेलाडी बौवाकार सिस्सोखोले हमिल्टनको पासमा विपक्षी पोस्टमा बललाई जाली चुमाएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफमा आक्रामक बनेको जाउलाखेलले २–० को अन्तर निर्धारित ९० मिनेटसम्म कायम गर्न सक्दा क्वार्टरफाइनलमा प्रवेश पाएको छ। तर पहिलो खेलमै पराजित हुन पुगेको मच्छिन्द्र घर फर्किन बाध्य भयो। अब जावलाखेलले दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइेटसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

    मंगलबार उद्घाटन खेल जितेको आयोजक सहाराले पहिलो क्वार्टरफाइनल खेल विभागीय नेपाल पुलिस क्लबसँग सुनिश्चित गरेको छ। सहारा हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई अन्तिम समयमा एक गोल गर्दै विजयी भएको हो।

    बिहीबार विभागीय एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जनाए। आयोजकले रजत संस्करणलाई नयाँपन दिन फ्लड लाइट प्रयोग गरेकोमा उद्घाटनमा केही प्राविधिक समस्या देखिएको थियो। त्यसको मर्मत सम्भार भइरहेको र बाँकी खेल फ्लड लाइटमै सञ्चालन हुने तयारी गरेको जनाएको छ।