


दमौली, २ फागुन । प्रेम दिवसको अवसर पारेर छाब्दीका युवा सामाजिक अभियन्ता अबिनश पन्थको नेतृत्वमा र बिष्णु पाण्डेको समन्वयमा व्यास नगरपालिका–१० मा बस्दै आएका एक विपन्न वृद्धलाई मानवीय सहयोग प्रदान गरिएको छ।
आर्थिक अभावका कारण जर्जर अवस्थामा बसोबास गर्दै आएका ती वृद्धको घरमा दुई वटा ढोका जडान गर्नुका साथै आवश्यक लत्ताकपडा र खाद्यान्न सामग्री सहयोग गरिएको अभियन्ता पन्थले जानकारी दिए।
टुटेको ढोका र असुरक्षित बसोबासका कारण कठिन जीवन बिताइरहेका वृद्धलाई सुरक्षित आवास र दैनिकी सहज बनाउन यो सहयोग गरिएको बताइएको छ। स्थानीय युवाहरूको सक्रियतामा गरिएको उक्त सहयोगले प्रेम दिवसलाई सार्थक बनाएको छ।
“प्रेम दिवस केवल शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने सन्देश दिन हामीले यो सानो प्रयास गरेका हौँ,” अभियन्ता पन्थले भने।