रास्वपा पहिलो दल बन्ने लक्ष्यमा अगाडी बढेको छ : डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा पहिलो दल बन्ने लक्ष्यमा अगाडी बढेको छ : डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८२, शनिबार

    दमौली, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी दिनमा पार्टीलाई देशकै पहिलो शक्ति बनाउने लक्ष्य रहेको बताएका छन्। पत्रकार राजेन्द्र बानियासँगको अन्तरवार्तामा उनले तनहुँको विकास, राजनीतिक अवस्था र पार्टीको भविष्यबारे स्पष्ट धारणा राखेका हुन्।

    उपसभापति वाग्लेले राष्ट्रिय र स्थानीय तहमा ‘घण्टी’ प्रतीकप्रति जनताको समर्थन बढ्दै गएको भन्दै आफू उत्साहित रहेको बताए। “राष्ट्रिय र स्थानीय दुवै तहमा घण्टीकै पक्षमा जनमत देखिएको छ, यसले हामीलाई थप जिम्मेवार र आशावादी बनाएको छ,” उनले भने।

    तनहुँको विषयलाई संसदमा निरन्तर उठाउँदै आएको उल्लेख गर्दै उनले जिल्लाका समस्या समाधानका लागि आफू सक्रिय रहेको बताए। “मैले तनहुँका मुद्दालाई संसदमा पटक–पटक उठाएको छु। तर संघ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार नभएकाले अपेक्षित रूपमा काम गर्न सकिएको छैन,” उनले स्पष्ट पारे।

    उनले तनहुँसँगको सम्बन्धलाई भावनात्मक रूपमा जोडिएको भन्दै आफूले जिल्लामा घरजग्गा नै किनिसकेको जानकारी दिए। “म तनहुँ बाहिरको भन्ने प्रचार पनि गरिएको छ, तर मैले यहाँ घरजग्गा किनिसकेको छु। म यहाँको विकाससँग प्रत्यक्ष जोडिन चाहन्छु,” उनले भने।

    उपसभापति वाग्लेले विगतमा आफू संघीय सांसदको जिम्मेवारीमा रहे पनि तनहुँका जनतासँग निरन्तर सम्पर्कमा रहेको बताए। “मलाई संघीय सांसदका रूपमा पठाइएको हो, तर यहीँ मात्र बसिरहोस् भन्ने चाहना पनि देखिन्छ। अहिलेसम्म म ११० पटक तनहुँ आइसकेको छु,” उनले भने ।

    तनहुँको भौगोलिक र सामाजिक संरचना उल्लेख गर्दै उनले जिल्लामा ४२ वटा वडा र करिब ६–७ सय बस्ती रहेको बताए। “यदि एउटा बस्तीमा एक रात बिताउने हो भने सबै बस्ती पुग्न साढे दुई वर्ष लाग्ने रहेछ,” उनले भने, “यसले तनहुँको व्यापकता र जनतासँग जोडिनुपर्ने चुनौती देखाउँछ।”

    उनले आफूलाई बोलाइएका अधिकांश कार्यक्रममा सहभागी हुँदै आएको तर कतिपय ठाउँमा भने निषेधसमेत गरिएको अनुभव सुनाए। “मलाई बोलाइएको कार्यक्रममा जाने गरेको छु, तर केही ठाउँमा निषेधसमेत गरिएको छ। यस्ता चुनौतीका बीच पनि जनताको विश्वास जित्ने प्रयास जारी रहनेछ,” उनले भने।

    “हामी चौथो शक्ति बनेर बस्ने होइनौं, अब पहिलो दल बन्ने लक्ष्यसहित अघि बढेका छौं,” उनले भने, “जनताको समर्थन र विश्वासले यो लक्ष्य पूरा हुनेमा विश्वस्त छु।”