


दमौली, २ फागुन । उज्यालो नेपालका उम्मेदवार मन्जिल रानाले युवाको नेतृत्व र अवसरलाई लिएर अभिव्यक्ति दिएका छन्। उनले युवाको नाममा राजनीति गर्ने तर व्यवहारमा युवालाई नेतृत्वमा आउन नदिने प्रवृत्तिको खुलेर विरोध गरेका हुन्।
रानाले स्पष्ट शब्दमा भनेका छन्, “यदि साँच्चै युवाको पक्षमा छौ भने बाटो छोड। युवाको भविष्यको भाषण गर्ने तर युवाकै नेतृत्वको विरोध गर्ने दोहोरो खेल अब बन्द हुनुपर्छ।” उनले युवाको नारामा भोट माग्ने तर निर्णय गर्ने तहमा पुग्न खोज्दा युवालाई रोक्ने प्रवृत्ति गलत भएको उल्लेख गरे।
उनका अनुसार, युवालाई केवल भोट बैंक वा प्रचारको साधनका रूपमा प्रयोग गर्ने होइन, नेतृत्वमा स्थापित गर्ने वातावरण सिर्जना गर्नुपर्छ। “युवालाई विश्वास गर्ने हो भने जिम्मेवारी पनि दिनुपर्छ, केवल आश्वासन होइन,” उनले भने।
पछिल्लो समय नेपाली राजनीतिमा युवाको सक्रियता बढ्दै गएको सन्दर्भमा रानाको यो अभिव्यक्तिलाई परिवर्तनको माग र पुरानो सोचविरुद्धको चुनौतीका रूपमा हेरिएको छ। उनका भनाइले विशेषगरी युवा पुस्तामाझ नयाँ ऊर्जा थपेको छ भने, परम्परागत नेतृत्वमाथि प्रश्न पनि उठाएको छ।
