


दमौली, ५ फागुन । नेपाली कांग्रेसका तर्फबाट तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले तनहुँवासीका दैनिक समस्याको छिटो समाधानका लागि ‘गुनासो सुन्ने हेल्प डेस्क’ स्थापना गर्ने घोषणा गरेका छन्।
भट्टराईले राज्यबाट सहजै पाउनुपर्ने सेवा–सुविधा लिन नागरिकले अनावश्यक झन्झट भोग्नुपरेको उल्लेख गर्दै अब त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाए।
“तपाईंहरूले बेलाबेलामा मलाई भन्नुभएको छ—हाम्रो सहजै हुनु पर्ने काम पनि भएन। राज्यबाट पाउने सेवासुविधा लिन कठिनाइ हुनु नै हुँदैन,” उनले भने, “अब त्यो समस्याको निरुपण गर्न म तनहुँका स्थानीय पालिकासँग समन्वय गरेर यहाँ स्थायी रूपमा गुनासो सुन्ने हेल्प डेस्क स्थापना गर्छु।”
उनका अनुसार उक्त हेल्प डेस्कले नागरिकका गुनासा दर्ता गर्ने मात्र होइन, सम्बन्धित निकायसँग समन्वय गरेर यथासक्य छिटो समाधान गराउने कामसमेत गर्नेछ। सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सहजता ल्याउने उद्देश्यले यो पहल अघि सारिएको उनले बताए।
भट्टराईले जनप्रतिनिधिको काम भाषण मात्र नभई नागरिकका समस्या सुन्ने र समाधान गर्ने रहेको उल्लेख गर्दै तनहुँवासीको साथ पाए आफू प्रत्यक्ष रूपमा नागरिकसँग जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
