२३ वर्षको ह्विलचियर यात्रा: वैदेशिक रोजगारीको चोटदेखि छोरीहरूको सफलतासम्म बुद्धिकुमारको संघर्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २३ वर्षको ह्विलचियर यात्रा: वैदेशिक रोजगारीको चोटदेखि छोरीहरूको सफलतासम्म बुद्धिकुमारको संघर्ष

    इश्वर बास्तोला

    ७ फाल्गुन २०८२, शुक्रबार

    दमौली, ८ फागुन । व्यास नगरपालिका–६, सेखाटार निवासी बुद्धिकुमार श्रेष्ठको जीवन एउटा जीवन्त पाठशाला हो। २३ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका बुद्धिकुमारको जीवन त्यहाँ भएको एउटा भयानक दुर्घटनाले सदाका लागि बदलिदियो।

    तन्दुरुस्त शरीर लिएर भविष्य खोज्न उडेका उनी दुर्घटनामा आफ्ना दुवै खुट्टा गुमाएर ह्विलचियरको सहारामा नेपाल फर्किए। हिँड्ने, डुल्ने र कमाउने उमेरमा अचानक ह्विलचियरमा खुम्चिनुपर्दाको पीडा निकै चुनौतीपूर्ण र कठिन थियो। उनीसँग दुई प्रकारका जीवनको अनुभव छ— एउटा सबल हुँदाको र अर्को ह्विलचियरको सहारा लिँदाको। विगत सम्झँदै श्रेष्ठ भन्छन्, “हिँड्ने, डुल्ने र कमाउने बेलामा यस्तो अवस्था आयो, एकै ठाउँमा बसिरहनुपर्दा सुरुका दिनमा ज्यादै चिन्तित भएँ।”

    आर्थिक परनिर्भरताले मानिसको आत्मसम्मानमा कस्तो असर पार्छ भन्ने कुरा उनले नजिकबाट भोगेका छन्। पहिले खल्तीमा पैसा लिएर हिँड्ने मान्छे, शारीरिक अशक्ततापछि श्रीमतीले पैसा दिए मात्र देख्न पाइने अवस्थामा पुगे। आफ्नो कमाइ नहुँदा समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा समेत फरक महसुस गरेका उनले अपाङ्गताका बहुआयामिक समस्याहरूलाई साक्षात भोगेका छन्। यद्यपि, उनले आफूलाई असक्षम कहिल्यै मानेनन्। उनी ‘ख’ वर्गको अति अशक्त अपाङ्गता भएको व्यक्ति हुन् र उनीसँग निलो परिचयपत्र छ। तर, उनी राज्यले दिने भत्ताको विवादमा अल्झिन चाहँदैनन्।

    पूर्ण अपाङ्गता भएका व्यक्तिहरू जसलाई चौबीसै घण्टा स्याहार चाहिन्छ, उनीहरूका लागि राज्यको सहारा जरुरी रहेको उनी बुझ्छन्। तर, उनी भने आफ्ना धेरैजसो काम आफैँ गर्छन्। शौचालय जान-आउन, भान्छामा खाना बनाउन, बाख्रालाई घाँस हाल्न र आवश्यक परे कुँडो-पानी गर्न समेत उनी पछि हट्दैनन्। टाढा कतै जानुपर्दा मात्र उनलाई सहयोगको आवश्यकता पर्छ।

    बुद्धिकुमारको यो सक्रियता र आत्मविश्वासको अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले पनि उच्च प्रशंसा गरेका छन्। बास्तोलाका अनुसार कुनै निकाय वा संस्थाको मात्र आश गर्नुभन्दा आफ्नै सक्षमता र खुबीको विकास गर्नु नै वास्तविक निकास हो। उनले आत्मनिर्भरताको यात्रामा कृषि र पशुपालन गरेर जीविकोपार्जनमा श्रेष्ठले पुर्‍याएको भूमिकाको कदर गरेका छन्। श्रेष्ठका चार सन्तानमध्ये तीन छोरी र एक छोरा छन्। उनका तीनै छोरीहरू हाल वैदेशिक रोजगारीमा छन्। जेठी छोरी स्पेन र माइली छोरी दुबईमा संघर्षरत रहँदा छोरा विवेक श्रेष्ठ महेन्द्र ज्योति माध्यमिक विद्यालयमा अंग्रेजी विषय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका छन्।

    पछिल्लो समय कान्छी छोरी प्रीति श्रेष्ठले कक्षा १२ उत्तीर्ण गरेपछि गैंडाकोटमा बसेर जापानी भाषा पढेर नाम निकालिन्। भिसा आएपछि उनलाई जापान पठाउन १७ लाख रुपैयाँको आवश्यकता पर्यो। घरमा पैसा नभएपछि उनले श्रीमतीसँग सल्लाह गरेर घर नै धरौटी राख्ने सोच बनाए। तर, ह्विलचियर प्रयोगकर्ताका लागि बैंक र सरकारी कागजपत्रको झन्झटिलो प्रक्रिया निकै कष्टकर रहेछ भन्ने उनले महसुस गरे। त्यसपछि उनले गाउँघरमै ऋण खोज्ने निर्णय गरे। दुई छोरीहरू विदेशमा रहेकाले छिमेकीले पत्याउलान् भन्ने उनलाई आशा थियो। नभन्दै, उनको इमानदारिता र मिहिनेत देखेका गाउँलेहरूले यसरी साथ दिए कि १७ लाख खोज्दा ३० लाख रुपैयाँसम्म सापटी जुट्ने वातावरण बन्यो।

    छोरी प्रीतिलाई उच्च शिक्षाका लागि हाँसी-हाँसी जापान पठाएका बुद्धिकुमारले मात्र ११ महिनामा सबै ऋण चुक्ता गरेर समाजलाई अचम्मित तुल्याए। ऋण मुक्त भएपछि उनलाई ‘कानमा तेल हाले जस्तै’ ढुक्क भएको छ। हिजो “यसले कसरी छोरीलाई विदेश पठाउला” भनी शंका गर्ने र कुरा काट्ने समाज आज उनको प्रगति र सन्तानप्रतिको समर्पण देखेर दङ्ग छ। छिमेकीहरूले पनि अप्ठ्यारो पर्दा साथ दिने मान्छेहरू हुने रहेछन् र मिहिनेत गरे असम्भव केही छैन भन्ने कुरा बुद्धिकुमारबाट सिकेका छन्। अति अशक्त अपाङ्गता भएर पनि सन्तानको सुखका लागि उनले गरेको यो सशक्त काम वास्तवमै उदाहरणीय छ। अब उनको एउटै इच्छा एउटा स्कुटर लिने छ, तर गाउँको कच्ची र जोखिमपूर्ण बाटोले उनलाई चिन्तित बनाएको छ। संघर्षको मैदानमा हिम्मत नहारेका बुद्धिकुमार अब छोराले पनि भविष्यमा केही राम्रो गर्नेमा विश्वस्त छन्।