


दमौली, २६ जेठ । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले तनहुँ जिल्ला अदालतमा दर्ता भएको सवारी ज्यान मुद्दामा तीन वर्ष कैद र ३२ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई आज पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएकामा अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।