


दमौली, ८ फागुन।लियो जिल्ला परिषद् ३२५ एल, नेपालको आगामी २०२६/२७ का लागि जिल्ला अध्यक्ष पदमा कुशल लम्सालले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्रका संस्थापक अध्यक्ष तथा हाल लियो जिल्ला परिषद् ३२५ एल, नेपालका जिल्ला उपाध्यक्षका रूपमा सक्रिय रूपमा सेवा गरिरहेका लम्सालले जिल्ला अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनको उम्मेदवारीलाई लियो क्लब अफ तनहुँका अध्यक्ष रविन श्रेष्ठले औपचारिक रूपमा समर्थन गरेका थिए।
कार्यक्रमको सभापतित्व लियो क्लब अफ काठमाडौं छाब्दी बाराहीकी अध्यक्ष लियो सुस्मिता बोगटीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एल, नेपालकी प्रथम भाइस डिस्ट्रिक गभर्नर लायन तारा भुसालको गरिमामय उपस्थिति रहेको थियो।
सोही अवसरमा लियो जिल्ला परिषद् ३२५ एल, नेपालका वर्तमान जिल्ला सचिव ट सिसम पोखरेलले पनि आगामी कार्यकालका लागि जिल्ला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी थिइन्। उनको गृह क्लब लियो क्लब अफ काठमाडौं छाब्दी बाराही रहेको छ भने उनको उम्मेदवारीलाई सोही क्लबकी उपाध्यक्ष लियो रक्षा थापा क्षेत्रीले समर्थन गरेकी थिइन् ।
लियो जिल्ला परिषद् ३२५ एल, नेपालले पूर्व प्रकाशित निर्वाचन तालिका अनुसार जिल्ला अध्यक्ष तथा जिल्ला उपाध्यक्ष पदको निर्वाचन आगामी चैत्र ७ गते ललितपुरमा आयोजना हुने चौथो वार्षिक जिल्ला सम्मेलनका अवसरमा सम्पन्न हुने जनाएको छ।