


दमौली, ९ फागुन । तनहुँ-२ मा दोस्रो जित सुनिश्चित गर्ने उद्धेश्य सहित नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देल चुनावी अभियानमा छन् । सिग्देल यतिबेला निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा पुगेर मतदातासँग भेटघाट गरिरहेका छन् ।
विसं २०७४ सालमा सिग्देल ३२ हजार ९ सय २४ मत ल्याएर बिजयी भएका थिए । सिग्देलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत ल्याएका थिए । फागुन २१ गते निर्वाचनमा पुन: सिग्देल र भण्डारीबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यद्यपि यस क्षेत्रमा ११ जना उम्मेदवार छन् ।
विकास र समृद्धिको स्पष्ट दृष्टि बोकेर अघि बढेका एक समर्पित राजनीतिक व्यक्तित्व हुन् सिग्देल।

पाँच वर्षे कार्यकालमा पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारमा आफ्नो भूमिका प्रभावकारी बनाएको दाबी गर्दै उनी मतदातामाझ पुगेका छन्।
घरदैलो तथा कोणसभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका सिग्देलले अधुरा योजनालाई पूर्णता दिने, रोजगारी सिर्जना गर्ने तथा समग्र क्षेत्रलाई समृद्धिको मार्गमा अघि बढाउने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्।
उनका समर्थकहरूका अनुसार स्थिर नेतृत्व र विकासको निरन्तरताका लागि सिग्देललाई पुनः विजयी गराउन आवश्यक रहेको बताइएको छ।

तनहुँको समृद्धि, स्थिरता र दिगो विकासका लागि अनुभवी नेतृत्वलाई पुनः अवसर दिनुपर्ने आवाज चुनावी माहोलसँगै थप बलियो बन्दै गएको नेकपा एमालेका अध्यक्ष हरिराज कंडेलले बताए ।
को हुन केदार सिग्देल ?
तनहुँको राजनितिमा एक परिचित नाम हो केदार सिग्देल । लामो समयदेखि नेकपा एमालेको राजनितीबाट तनहुँ बासीको मनमा बस्न सफल भएका सिग्देल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । सिग्देल वि.स. २०२० असोज ५ गते तनहुँको साविक किहुँ गाविस ७ बोमामा जन्मिएका हुन् । निडर, हकी र जुझारु स्वाभावका सिग्देल २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई तत्कालिन नेकपा मालेबाट राजनिति सुरु गरेको थिए ।
उनी पोखरा स्थित पृथ्वी नारायण क्याम्पस तथा काठमाण्डौको नेपाल ल क्यम्पसमा विद्यार्थी राजनितिमा सक्रिय हुदै तत्कालिन पार्टीको संगठन निर्माण र निर्दलिय पञ्चायत ब्यबस्थाको विरुद्ध भएको आन्दोलनको जिम्मेवारी सम्हाल्दै आफ्नो कुशल क्षमता प्रर्दशन गरेका व्यक्ति हुन् । वि.स. २०४६ सालको आन्दोलनमा तनहुँको दक्षिण पश्चिम क्षेत्रको नेतृत्व सम्हाल्दै आफुलाई पूर्ण रुपमा राजनितिमा समर्पित गरेका सिग्देलले जिल्लाका राजनीति र विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बुबा भोजराज र माता निलमायाको कोखबाट जन्मिएका सिग्देल ग्रामीण क्षेत्रमा आफ्नो बाल्यकाल बिताए पनि उनले राजनिति शास्त्रमा एम.ए. र कानुन विषयमा वि.ल उत्तिर्ण गरेका छन् । सादा जीवन र उच्च विचारको प्रतिमूर्तिका रुपमा आफूलाई परिचित बनाएका उनी आफ्नो संगी साथी र कार्यकर्ताहरु बीचमा भने मिलनसार, र मिजासिलो स्वभाव भएको मानिन्छ । श्रमप्रति गहिरो लगाव राख्ने सिग्देलले गलत प्रवृती र चरम अवसरबादको भने तिखो प्रहार गर्न माहिर छन् । राजनीतिलाई पेशाको रुपमा नभै स्वेच्छिक सेवाको रुपमा मान्ने सिग्देल ईमान्दार, विश्वसनियता र जवाफदेहिताको सजिव धरोहरको रुपमा चिनिन्छन् ।
राजनितिसँगै अध्यापन पेशामा समेत आफूलाई समाबेश गरेका उनले पूर्णकालिन राजनितिमा लागे पछि जागिरलाई निरन्तरता दिन सकेनन् । जिल्ला कमिटीको सदस्य हुदै उपसचिव र दुई कार्यकाल निर्वाचित अध्यक्षको भूमिका निर्वाह गरेको उनी आफ्ना कार्यकालमा पार्टी संगठन विस्तार र पार्टीलाई प्रभावकारी बनाउन सक्षम नेताको रुपमा समेत परिचित छन् ।