


दमौली, ९ फागुन । उज्यालो नेपाल पार्टीका तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले आफ्नो चुनावी अभियानप्रति दिनप्रतिदिन जनसमर्थन बढिरहेको बताएका छन्। हरेक दिन नयाँ–नयाँ समूहहरू कुनै स्वार्थले होइन, प्रेम र विश्वासका साथ अभियानमा जोडिँदै गएको उनले उल्लेख गरे।
रानाले भने, “आज हामीले गरिरहेको मेहनतप्रतिको प्रेम र भोलि युवाले बनाउन सक्ने भविष्यप्रतिको विश्वास नै हाम्रो अभियानको आधार हो।” उनले सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटघाटमार्फत हौसला र समर्थन जनाउने सबैप्रति कृतज्ञता व्यक्त गरे।
उनका अनुसार पार्टीको सीमाभन्दा माथि उठेर साथी–परिवारसँग अभियानका विषयमा सकारात्मक सन्देश फैलाइरहेका समर्थकहरूले आफूलाई अझ जिम्मेवार बनाएको छ। “हामी पहिले नेपाली हौँ, पार्टी त्यसपछि,” उनले भने, “यो अभियान शक्तिशालीहरूको होइन, युवाले निर्माण गर्ने भविष्यमा विश्वास गर्ने जनताको हो।”
रानाको टोलीले व्यास–४, भानु–१२ लगायत बेलबास, निगुरो, सोडे पुल, मास्दी, नाल्दी, साराङघाट, तनहुँसुर, भगवतीपानी, मैबल, नाबवुङ्ग, गैरथोक, छिरकन, बेलभञ्ज्याङ, डापरे, खड्कामाइ र मन्दिर क्षेत्रहरूमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।
स्थानीय युवाहरूको सक्रिय सहभागिताले अभियानमा थप ऊर्जा थपिएको र आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास रानाले व्यक्त गरेका छन्।