तनहुँ–१ मा मन्जिल रानाको घरदैलो अभियान तीव्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा मन्जिल रानाको घरदैलो अभियान तीव्र

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ–१ का प्रतिनिधिसभा उम्मेदवार मन्जिल रानाले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्। पछिल्लो केही दिनयता उनले तनहुँ–१ अन्तर्गतका पाँचवटै स्थानीय तहका विभिन्न बस्ती र टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

    घरदैलो अभियानका क्रममा रानाले मतदातासँग हातेमालो गर्दै उनीहरूका गुनासा, सुझाव र अपेक्षाहरू सुन्दै आएका छन्। स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार निर्माणलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै उनले तनहुँको समग्र विकासका लागि नयाँ सोच र स्पष्ट योजना आवश्यक छ भन्ने धारणा राखेका छन्।

    उनले विशेषगरी युवालाई लक्षित कार्यक्रमहरू अघि सारेका छन्। “विदेश पलायन हुन बाध्य युवालाई यहीँ अवसर सिर्जना गर्न सकिन्छ,” भन्दै रानाले कृषि, पर्यटन र साना–मझौला उद्योगमार्फत रोजगारी विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

    मतदातासँगको संवादमा उनले पारदर्शी र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याउँदै राजनीति सेवा र जिम्मेवारीको क्षेत्र भएको उल्लेख गरे। स्थानीय स्तरका सडक, खानेपानी, स्वास्थ्य चौकी स्तरोन्नति तथा विद्यालय सुधारका योजना समेत उनले सार्वजनिक गरेका छन्।

    घरदैलोका क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दाले सकारात्मक प्रतिक्रिया दिएको रानाको दाबी छ। “जनतासँग प्रत्यक्ष संवाद नै हाम्रो अभियानको आधार हो,” उनले भने, “तपाईंहरूको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने जिम्मा मेरो हुनेछ।”

    तनहुँ–१ मा चुनावी माहोल क्रमशः तातेका बेला मन्जिल रानाको सक्रिय घरदैलो अभियानले राजनीतिक सरगर्मी बढाएको छ।