


दमौली, ११ फागुन । तनहुँको व्यास नगरपालिका–५ का ४० वर्षीय ओमबहादुर मल्ल सात वर्ष साउदी अरबमा पसिना बगाएर पाँच वर्षअघि स्वदेश फर्किएका थिए। परदेशको कमाइले उनले पोखरा–काठमाडौं चल्ने डिलक्स बस किनेका थिए। त्यो बस केवल व्यवसाय थिएन, परिवारको भविष्यको सपना थियो।
तर सोमबार बिहान करिब साढे एक बजे त्यो सपना त्रासदीमा बदलियो। ग २ ख १४२१ नम्बरको आफ्नै बसमा श्रीमती सुकमायासँग काठमाडौं जाँदै गरेका मल्लको बस बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौंडास्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खस्यो। आफ्नै पसिनाले किनेको बसमै उनले ज्यान गुमाए।
उनकी श्रीमती सुकमायाको करङ र हात भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ। हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनामा बस चालक सुजित नेपालीको पनि निधन भएको छ भने सहयोगी प्रतीक पौडेल घाइते छन्।
व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार मल्लका एक छोरा र एक छोरी छन्। नेवारी परम्पराअनुसार छोरीको ‘गुफा’ बसेको एक साता मात्र भएको थियो। १२ दिनपछि गुफा निकाल्नुपर्ने र त्यसका लागि कपडा तथा आवश्यक सामग्री किन्न दम्पती काठमाडौं जाँदै थिए।
‘हामी एउटै गुठीका सदस्य हौं। बिहानै खबर पाएपछि घर पुगेँ,’ वडाध्यक्ष श्रेष्ठले भावुक हुँदै भने, ‘अरु बेला ड्राइभर र कन्डक्टरकै भरमा बस चल्थ्यो। आज आफैं सामान किन्न जाँदा यस्तो भयो।’