


दुलेगौंडा, ८ चैत । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा आइतवार कलाकार श्याम राना, होमेश भण्डारी, सुमन थापा र स्बाल सन्जालको प्रस्तुतीले दर्शकलाई नचाए ।
आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ । सोमवार कलाकार राजन कार्की, कृष्ण गुरुङ, सरस्वती लामिछाने, शिव शर्मा लगायतको प्रस्तुती समावेश गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए । सोमवार साँझ भियोमाको लाईभ कन्सर्ट हुने कन्र्सट व्यवस्थापन उपसमिति संयोजक सुमन सापकोटाले बताए ।
महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।