तनहुँ हाइड्रो : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ हाइड्रो : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०८२, शुक्रबार

    दमौली, १३ चैत । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवन जिल्लाका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रभित्र पर्ने रुखहरूको छपान (मार्किङ) कार्य सुरु भएको छ।

    नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/०८/२० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक ९२.७३३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा सो क्षेत्रमा रहेका ९,१२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो। वन क्षेत्र प्रयोग तथा रुख हटाएबापत क्षतिपूर्ति स्वरूप वृक्षरोपण र पाँच वर्षसम्म स्याहारसम्भारका लागि वन विकास कोषमा जम्मा गर्नुपर्ने रकमका लागि अर्थ मन्त्रालयबाट मिति २०८२/०७/१९ गते स्रोत सहमति प्राप्त भएको थियो।

    स्रोत सुनिश्चित भएपछि आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भू–संरक्षण विभागबीच मिति २०८२/०९/३० गते मन्त्रिपरिषद्को निर्णयअनुसार वन क्षेत्र प्रयोग तथा रुख हटाउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। त्यसपश्चात सम्बन्धित वन डिभिजन कार्यालय, आयोजना तथा सामुदायिक वन उपभोक्ता समूहहरूको समन्वय र रोहबरमा प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे) तथा टावर निर्माणस्थलमा पर्ने रुखहरूको छपान कार्य अघि बढाइएको छ।

    करिब ३४ किलोमिटर लम्बाइको प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गरिनेछन्। हालसम्म ७८ वटा टावरको जग हालिसकिएको छ भने दुई वटा टावरको जग हाल्ने कार्य जारी छ। त्यसैगरी ६९ वटा टावर जडान सम्पन्न भइसकेको छ र तार तान्ने कार्यका लागि आवश्यक तयारी भइरहेको छ। वन क्षेत्र प्रयोग तथा रुख हटाउने सम्बन्धी सहमति प्राप्त भइसकेकाले अब प्रसारण लाइन निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।