कुलत त्यागेर गाउँ बनाउन जुटे बेनीकोटका युवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुलत त्यागेर गाउँ बनाउन जुटे बेनीकोटका युवा

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८२, बुधबार

    दमाैली, २५ चैत । तनहुँको व्यास नगरपालिका–१३, बेनीकोटमा पछिल्लो समय सामाजिक रूपान्तरणको एउटा सकारात्मक लहर देखिएको छ। विगतमा जाँड–रक्सी, जुवातास र क्यारेमबोर्ड जस्ता खेलमा भुलेर आफ्नो समय र स्वास्थ्य खेर फालिरहेका युवाहरू अहिले संगठित भएर गाउँको विकासका लागि श्रमदानमा होमिएका छन्।

    श्रमदान अभियानका अगुवा अमृत आलेका अनुसार गाउँमा पहिलेको अवस्था निकै चुनौतीपूर्ण थियो। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले गाउँमा अभिभावकहरू मदिरामा झुम्मिने र त्यसको प्रत्यक्ष असर युवा पुस्तामा परिरहेको देखेपछि यस अभियानको परिकल्पना गरेका हुन् । जाँड–रक्सीकै कारण धेरैले अल्पायुमै ज्यान गुमाउनु परेपछि युवाहरूलाई सही बाटोमा ल्याउन ‘आफ्नो गाउँ आफैं बनाउँ’ अभियान सुरु गरिएको हो।

    कुलतमा फसेका युवा शक्तिलाई एकत्रित गरी उनीहरूको श्रमलाई गाउँको विकासमा लगाउँदा अहिले गाउँको वातावरण नै बदलिएको आलेले बताए। अहिले यहाँका युवाहरूले आफ्नै पसिना बगाएर गाउँका महत्वपूर्ण संरचनाहरूको स्वरूप फेरेका छन्। भग्नावशेष अवस्थामा पुगेको ऐतिहासिक अकला मन्दिरको स्तरउन्नति गरिएको छ भने रिप बस्तीमा रहेको खानेपानीको कुवालाई ढलान गरी सुरक्षित बनाइएको छ।

    युवाहरूको यो जोशलाई विदेशमा रहेका बेनीकोटबासीले पनि आर्थिक अनुदान दिएर साथ दिएका छन्। गाउँमै रहेका युवाहरूको श्रम शक्ति र विदेशमा रहेकाहरूको आर्थिक सहयोगबाटै गाउँका सानातिना योजनाहरू धमाधम सम्पन्न भइरहेका छन्। गाउँमा तास खेल्ने हातहरू अहिले बाटो बनाउन जाली भर्ने र ढुङ्गा बोक्ने काममा व्यस्त देखिन्छन्।

    स्थानीय शान्ति टोलका अध्यक्ष सिर बहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाले पनि युवाहरूको यो सक्रियताले गाउँमा एकताको सन्देश फैलाएको र सरकारी बजेटको मात्र मुख नताकी धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताए ।