


दमौली, २५ चैत । तनहुँमा २०० एम्पुल नियन्त्रित लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गर्ने क्रममा बुधबार उक्त परिमाणको लागुऔषध बरामद गरिएको हो।
प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका–१ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्दै आएका ३१ वर्षीय सुरज गुरुङ र काठमाडौं महानगरपालिका–८ बस्ने २३ वर्षीय प्रेम सार्की रहेका छन्।
उनीहरूले साइडमा भिर्ने झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपाम ६९ एम्पुल, फेनरागन ६६ एम्पुल र बुफ्रिन ६५ एम्पुल गरी जम्मा २०० एम्पुल नियन्त्रित लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।