


दमौली, २५ चैत । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग ११ प ८३३२ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका–३० बस्ने ६९ वर्षीय सप्तना कँवर घाइते भएका छन्। उनको दाहिने हातको पाखुरा र बायाँ हातको सानो औँलामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ।
यस्तै, पछाडि सवार कास्की पोखरा महानगरपालिका–३१ का ६६ वर्षीय मोहन घिमिरे गम्भीर घाइते भएका छन्। उनको टाउको र मुखमा गहिरो चोट लागेको छ र बोल्न नसक्ने अवस्थामा रहेका छन्।
घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।