नेपाली सेनाको गोरखा जितगढी पदयात्रा दमौलीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली सेनाको गोरखा जितगढी पदयात्रा दमौलीमा

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८२, आईतवार

    दमौली, २९ चैत । गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा आज दमौलीमा आइपुगेको छ । आजै व्यास नगरपालिका–११ तनहुँसुरबाट हिँडेको उक्त टोली दमौलीमा आइपुगेको हो ।

    शुक्रबारदेखि सुरु भएको पदयात्राका सहभागीलाई बिहान व्यास नगरपालिका–११ तनहुँसुरमा स्वागत गरिएको थियो । तनहुँको भानु नगरपालिकास्थित सतिघाट, बाङ्गेरह, शेपाबगैंचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुगेको पदयात्रा टोलीलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए । सो अवसरमा भानुको भद्रदल गणले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ ।

    त्यसअघि शुक्रबार गोरखास्थित रुद्रध्वज गणले तनहुँको भानुस्थित भद्र दलगणलाई पदयात्राको झण्डा भानुमा हस्तान्तरण गरेको थियो ।

    राष्ट्रिय एकताको भावना जागृत हुने कार्यहरू सम्पादन गर्ने उल्लेख भए अनुसार नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्ग लगायत धरोहरको संरक्षण, सम्बद्र्धन गर्ने उद्धेश्यसहित पदयात्रालाई निरन्तरता दिइएको कालीभञ्जन गण (इ) का प्रमुख सेनानी हरिबहादुर खड्काले जानकारी दिए।

    पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्धेश्यसहित पदयात्रा गरिएको उनले बताए ।

    तनहुँसुरबाट पदयात्रा टोली चैत ३० गते तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा कालीभञ्जन गण (इ) ले श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गर्नेछ ।

    उक्त पदयात्रा वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीले तारा दल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि बुटवल उपमहानगरपालिकाको जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

    पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । उक्त टोलीमा ३५ जना नेपाली सेनाको सहभागिता रहेको छ ।