


दमौली, १० वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो ।
निकट भविष्यमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।
प्रतियोगिताबाट गण्डकी प्रदेशको महिला र पुरुषको सशक्त टिम छनोट गरिने पाण्डेले बताए । उनले भने, “दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँ आएर खेल्नैपर्छ । यहाँ खेलेका खेलाडीबाट टिम बनाइनेछ ।”
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ । दक्ष भलिबल खेलाडी उत्पादन र क्षमता विकास गर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले उल्लेख गरे।
उनले भने, “तनहुँमा भलिबल निकै लोकप्रिय खेल हो । यसले खेल पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य राखेका छौ ।”
छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ ।
प्रतियोगितामा महिला पुरुष गरी दुई सय ४० खेलाडी, २० प्रशिक्षक, २० अफिसियल उपस्थित हुनेछन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि रु २५ लाख ४६ हजार लाग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापन गण्डकी प्रदेश खेलकुद परिषद् र अन्य सरोकारवाला निकायबाट गरिने पाण्डेले बताए।