


दमौली, १३ वैशाख । व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र दमाैलीस्थित सिद्धार्थ होटलबीच संस्थागत सहकार्यको सम्झौता गरिएकाे । उक्त सम्झौतामा क्याम्पसका तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार र सिद्धार्थ होटलको तर्फबाट होटल व्यवस्थापक अभिशेष अर्यालले हस्ताक्षर गरेका छन् ।
होटल व्यवस्थापन विषयको शैक्षिक सिकाई र हस्पिटालिटी उद्योगमा हुने अभ्यास बीचमा ठूलो खाडल रहेको छ । क्याम्पसको होटल व्यवस्थापन, र बिबीए बिबिएस एमबिएस तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूको रोजगारी क्षमता वृद्धि गर्न, विद्यार्थीहरूलाई व्यावसायिक तालिम प्रदान गर्न र हस्पिटालिटी सेवामा आपसी लाभ प्रदान गर्न दुई संस्था बीच सहकार्यको सम्झौता गरिएको हो।
यस सम्झौतापछि आदिकवि भानुभक्त क्याम्पसका व्यवस्थापन संकाय अन्तर्गत विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले पाठ्यक्रमको आवश्यकता पूरा गर्न इन्टर्नसिपको अवसर प्राप्त गर्नेछन्। रिक्त रहेका पदहरूमा होटल सिद्धार्थले क्याम्पसका योग्य स्नातकहरूलाई प्राथमिकता दिनेछ।
उक्त होटलले होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरूलाई पाक कला, हस्पिटालिटी, अतिथि सत्कार, फ्रन्ट डेक्स व्यवस्थापन, हाउस किपिङ र आवास व्यवस्थापनका तालिमहरू प्रदान गर्नेछ। क्याम्पसको नेतृत्वमा दुवै संस्थाहरूले क्षेत्रीय पर्यटन र सीप विकासलाई प्रवर्द्धन गर्न स्थानीय समुदाय र होमस्टेहरूलाई व्यावसायिक हस्पिटालिटी तालिम प्रदान गर्नेछन्।
सिद्धार्थ होटलले क्याम्पसका अतिथि, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई आवास, खाना, पेय पदार्थ र अन्य सेवाहरू विशेष छुट दरमा प्रदान गर्नेछ। क्याम्पसले आयोजना गर्ने कार्यक्रम, सेमिनार र प्रयोगशालाको लागि होटलले विशेष प्याकेज र सुविधा सहुलियत दरमा प्रदान गर्नेछ।