


दमौली, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका केही विद्यालयहरूमा प्रचलित कानून विपरीत भइरहेको शुल्क असुली र भर्ना प्रक्रियालाई नियन्त्रण गर्न सरोकारवाला निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ तथा विद्यमान कानूनविपरीत शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना गर्ने र विभिन्न शीर्षकमा शुल्क लिने कार्य निरन्तर भइरहेको गुनासो प्राप्त भएको जनाएको छ।
यस्ता गतिविधिले अभिभावक तथा विद्यार्थीहरूलाई अनावश्यक आर्थिक भार पर्ने र शैक्षिक क्षेत्रमै अव्यवस्था सिर्जना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक पहल गर्न प्रशासनले जोड दिएको छ।
प्रशासनले सम्बन्धित निकायहरूलाई यस्ता कार्यलाई तोकिएबमोजिम व्यवस्थित गर्न आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको उल्लेख गरेको छ। साथै, नियमविपरीत गतिविधि गर्ने विद्यालयहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संकेत पनि दिएको छ।
यसैबीच शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जिल्लास्थित दशवटै स्थानीय तहलाई परिपत्र गर्दै आवश्यक समन्वय र सहजीकरणका लागि आग्रह गरेको छ ।