


दमाैली, २४ वैशाख । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने ‘भानु साहित्य उद्यान’ले उक्त क्षेत्रलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरको साहित्यिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार आयोजित उद्यान शिलान्यास कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको स्मरणसँगै भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि उद्यान महत्वपूर्ण हुने बताए। “यो केवल एउटा औपचारिक कार्यक्रम होइन, हाम्रो भाषा र संस्कृतिप्रति सम्मान प्रकट गर्ने तथा भावी पुस्तालाई प्रेरणा दिने अवसर हो,” उनले भने।
उनले आफू जन्मिएको र हुर्किएको भूमि चुँदीरम्घामा राष्ट्रपतिसमेतको उपस्थितिमा यस्तो ऐतिहासिक कार्यक्रम हुनु गौरवको विषय भएको उल्लेख गरे।
सांसद न्यौपानेले देशको समग्र विकासका सन्दर्भमा जलस्रोत र ऊर्जा उपयोगमा नेपाल पछाडि परेको टिप्पणी गर्दै हिमालबाट बग्ने पानी र युवाशक्ति दुवै विदेशिने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए। “हाम्रो पानी, ऊर्जा र जनशक्ति खेर गइरहेको छ, अब समय आएको छ आफ्नै स्रोतलाई आफ्नै भूमिमा उपयोग गर्ने,” उनले भने।
उनले पूर्वाधार विकासका आयोजनाहरू लामो समयसम्म मुद्दामा अल्झिने समस्याको समाधानका लागि सरकारले नयाँ कानुनी व्यवस्था अघि बढाएको जानकारी दिए। उनका अनुसार विवादका बाबजुद पनि आयोजना नरोकिने व्यवस्था, पूर्वाधार अदालत र फास्टट्र्याक बेन्चमार्फत छिटो न्याय सुनिश्चित गर्ने तयारी गरिएको छ।
विश्व परिवेशतर्फ संकेत गर्दै उनले मध्यपूर्वमा हुने युद्धको असर नेपाली जनजीवनमा समेत पर्ने गरेको उल्लेख गर्दै ऊर्जा आत्मनिर्भरता अपरिहार्य रहेको बताए। “हिजो नै हामी ऊर्जामा आत्मनिर्भर भएको भए आजको महँगी र इन्धन संकटले यति असर गर्ने थिएन,” उनले भने।
सांसद न्यौपानेले प्रविधिको विकाससँगै छोटो समयमा ठूलो विकास सम्भव रहेको उल्लेख गर्दै सुशासन, स्पष्ट नीति र कानुनी आधार बलियो बनाउँदै आक्रामक रूपमा विकास अघि बढाउने सरकारको प्रतिबद्धता दोहोर्याए।