बन्दीपुरमा ‘गण्डकी पर्यटन मार्ट–२०८३’ आयोजना, स्थानीय सञ्चारकर्मी उपेक्षित भएको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा ‘गण्डकी पर्यटन मार्ट–२०८३’ आयोजना, स्थानीय सञ्चारकर्मी उपेक्षित भएको गुनासो

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८३, बिहीबार

    दमौली, १७ वैशाख । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजनामा तनहुँको बन्दीपुरमा ‘गण्डकी पर्यटन मार्ट–२०८३’ आयोजना हुने भएको छ । गण्डकी प्रदेशको समेत सहयोजनामा उक्त कार्यक्रम वैशाख १८ र १९ गते सञ्चालन हुनेछ ।

    पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायहरूको सहभागिता रहनेछ । तर कार्यक्रमको तयारीसँगै स्थानीय तहमा भने असन्तुष्टि देखिएको छ । विशेषगरी बन्दीपुर गाउँपालिका लगायत तनहुँ जिल्लाका सञ्चारकर्मी तथा पर्यटनसँग जोडिएका सरोकारवालाले आफूहरूलाई उपेक्षा गरिएको गुनासो गरेका छन् । पत्रकार महासंघका अध्यक्षहरुलाई प्यानलिस्टको रुपमा निम्तो दिँदै गर्दा अन्य पत्रकार जसले स्थानीय स्तरबाट पर्यटन प्रवद्र्धनमा सहयोग गरेका छन् उनीहरुलाई भने बेवास्ता गरिएको गुनासो आइरहेको छ ।

    प्रेस चौतारी, तनहुँका पूर्व अध्यक्ष एवं पत्रकार महासंघ तनहुँ शाखाका सल्लाहकार नारायण खड्काले सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिँदै बन्दीपुरमै आयोजना हुने कार्यक्रमबारे आफूहरूले सामाजिक सञ्जालमार्फत जानकारी पाएको उल्लेख गरेका छन् । उनले काठमाडौं र पोखराबाट पत्रकार ल्याएर कार्यक्रम गरिँदा बन्दीपुरको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा योगदान पुर्याएका स्थानीय सञ्चारकर्मीहरुलाई बेवास्ता गरेको आशंका व्यक्त गरेका छन् । ‘हाम्रै बन्दीपुरमा गण्डकी प्रदेशले यो कार्यक्रम गर्दै रहेछ ! सामाजिक संजाल मार्फत जानकारी भयो । काठमाडौ र पोखराबाट पत्रकार/सन्चारकर्मी ल्याएर कार्यक्रम गरिरहदा बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न प्रत्यक्ष/अप्रत्यक्ष रुपमा तनहुँका पत्रकार/सन्चारकर्मीले खेलेको भूमिकालाई बन्दीपुर गाउँपालिका, बन्दीपुरका पर्यटन व्यवसायी तथा यससँग सम्बन्धित सरोकारवालाले उपेक्षा गरेको हो कि भन्ने लाग्यो । यद्यपि उनले कार्यक्रम सफल होस् र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकामना पनि दिएका छन्।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    यससँगै पत्रकार महासंघका पूर्व अध्यक्ष उज्वल पौडेलले यस्ता कार्यक्रमहरूलाई ‘कुरामुखी’ गतिविधि भन्दै आलोचना गरेका छन्। उनका अनुसार पर्यटन पूर्वाधार विकासभन्दा पनि अनावश्यक छलफल र कार्यक्रममै लगानी भइरहेको छ, जसले पर्यटन विस्तारमा खास योगदान नदिने बताएका छन् । उनीसँगै पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले कार्यक्रमको नाम बन्दीपुर भए पनि काम भने पोखरा केन्द्रित भएको भन्दै तनहुँका सञ्चारकर्मीमाथि अविश्वास र अपमान भएको टिप्पणी गरेका छन् ।

    यस विषयमा थप असन्तुष्टि जनाउँदै पत्रकार बिनोद ढुंगानाले स्थानीय सञ्चारकर्मीको योगदानलाई बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले “स्थानीयलाई नदेख्ने र बाहिरबाट आएका व्यक्तिलाई मात्र सम्मान गर्ने प्रवृत्ति” प्रति असन्तुष्टि जनाउँदै आवश्यक परे बन्दीपुरमा हुने गतिविधि बहिष्कार गर्नुपर्ने धारणा राखेका छन्।

    पर्यटन क्षेत्रमा कलम चलाइरहेका पत्रकार विष्णुकान्त घिमिरेले बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र बन्दीपुरका पर्यटनका नेता वैश गुरुङले नेतृत्व गरिरहँदा यस्ता कुरा सामान्य भएकाे बताउँदै मिडिया सल्लाहकारले पनि सल्लाह दिएनन् कि टेरेनन भन्दै प्रश्न गरेका छन् ।

    स्थानीय स्तरमा आएको यस्तो प्रतिक्रियाले कार्यक्रम व्यवस्थापन, सूचना प्रवाह र समावेशीतामाथि प्रश्न उठाएको छ । पर्यटन प्रवद्र्धन जस्तो साझा सरोकारको विषयमा स्थानीय सरोकारवालाको सहभागिता सुनिश्चित गर्न नसक्दा यस्ता कार्यक्रमहरूको प्रभावकारितामा समेत असर पर्ने देखिन्छ । त्यसैले स्थानीय असन्तुष्टिले आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा समन्वय, पारदर्शिता र सहभागितामा थप ध्यान दिनुपर्ने संकेत गरेको छ ।