


दमौली, १८ वैशाख । तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्यिक उद्यानको औपचारिक सिलन्यास गरिएको छ। करिब ४०० रोपनी क्षेत्रफलमा फैलने उक्त महत्वाकांक्षी परियोजनाले स्थानीय स्तरमा उत्साह बढाएको छ।
तर, परियोजना अघि बढ्दै गर्दा वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै स्थानीय बासिन्दामा शंका र चिन्ता समेत बढ्न थालेको छ। संरचनागत रूपमा विकास गरिने यस्तो ठूलो परियोजनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ वा छैन भन्ने विषयमा स्पष्ट जानकारी नआएको स्थानीयहरूको गुनासो छ।
स्थानीयका अनुसार, कुनै पनि विकास निर्माण कार्य अघि बढाउनु अघि वातावरणीय अध्ययन अनिवार्य रूपमा सम्पन्न गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने कानुनी व्यवस्था छ। यस्तो अध्ययनले परियोजना क्षेत्रको भौगोलिक अवस्था, संरचना निर्माणको उपयुक्तता तथा निर्माणपछि वातावरणमा पर्न सक्ने सम्भावित प्रभावहरूको विस्तृत विश्लेषण गर्ने गर्दछ।
स्थानीय बासिन्दा सन्देश आचार्यले भने, “परियोजना राम्रो हो, तर वातावरणीय पक्षबारे स्पष्ट जानकारी नहुँदा हामी अन्योलमा छौं। प्रतिवेदन सार्वजनिक गरेर जनतालाई आश्वस्त पार्नुपर्छ।”