


दमौली, १९ वैशाख । व्यास नगरपालिका-५ पाटनस्थित पराशर आश्रम संरक्षण समितिको आयोजनामा शनिबार सम्पन्न भजन प्रतियोगितामा व्यास-५ जलेश्वर भजन समूह प्रथम भएको छ ।
प्रतियोगितामा व्यासज्योति धर्म जागरण भजनकिर्तन समूह द्वितीय, आदिकवि भानुभक्त मावि तृतीय र नवआदर्श आमा समूह सान्त्वना भएको निर्णायक समितिका संयोजक ऋषिराम ढुङ्गानाले जानकारी दिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजित भजन प्रतियोगिताले पछिल्लो समय ओझेलमा पर्दै गएको भजन परम्परालाई पुनर्जीवित गर्ने प्रयास गरेको छ ।
संरक्षण समितिका सचिव महेन्द्र गिरीले भजन केवल धार्मिक अभिव्यक्ति मात्र नभई हाम्रो इतिहास, पहिचान र जीवनशैलीसँग जोडिएको सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले भजनमार्फत् व्यास र पराशर क्षेत्रको महत्व, यसको ऐतिहासिक पृष्ठभूमि र धार्मिक गौरवलाई प्रस्तुत गरिएको उल्लेख गरे ।
प्रतियोगितामा आठ समूहको सहभागिता थियो । प्रतियोगितामा व्यास नगरपालिका–१ आदिकवि भानुभक्त विद्यालय, व्यास नगरपालिका–५ जलेश्वर संस्कृत भजन समूह, व्यास नगरपालिका–३ सिमलगैह्रा भजन किर्तन समूह, व्यास नगरपालिका–५ सिन्धु सांस्कृतिक भजन समूह, व्यास नगरपालिका–१ नवआदर्श आमा समूह, व्यास नगरपालिका–३ व्यासज्योति धर्म जागरण भजनकिर्तन समूह, व्यास नगरपालिका–३ पतञ्जली योग समिति आरोग्य केन्द्र र व्यास नगरपालिका–५ महर्षि वेदव्यास वेदविद्याश्रम बटुक समूहको सहभागिता रहेको थियो ।
विशेषगरी जलेश्वर संस्कृत भजन समूहको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बन्यो । उनीहरूले व्यास र पराशर ऋषिको उत्पत्तिका विषयलाई भजन र अभिनयको संयोजनमार्फत् प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध बनेका थिए ।