


दमौली, २० वैशाख । व्यास नगरपालिका–५ पाटनस्थित पराशर आश्रम क्षेत्र आज भजनको मधुर धुनले गुञ्जियो । धार्मिक आस्था, सांस्कृतिक चेतना र परम्पराप्रतिको माया एकै ठाउँमा मिसिँदा पराशर क्षेत्र एउटा जीवित सांस्कृतिक रङ्गमञ्चझैँ बनेको थियो ।
पराशर आश्रम संरक्षण समितिको आयोजना र व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजित भजन प्रतियोगिताले पछिल्लो समय ओझेलमा पर्दै गएको भजन परम्परालाई पुनर्जीवित गर्ने प्रयास गरेको छ ।
संरक्षण समितिका सचिव महेन्द्र गिरीले भजन केवल धार्मिक अभिव्यक्ति मात्र नभई हाम्रो इतिहास, पहिचान र जीवनशैलीसँग जोडिएको सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले भजनमार्फत् व्यास र पराशर क्षेत्रको महत्व, यसको ऐतिहासिक पृष्ठभूमि र धार्मिक गौरवलाई प्रस्तुत गरिएको उल्लेख गरे ।
प्रतियोगितामा आठ समूहको सहभागिता थियो । प्रतियोगितामा व्यास नगरपालिका–१ आदिकवि भानुभक्त विद्यालय, व्यास नगरपालिका–५ जलेश्वर संस्कृत भजन समूह, व्यास नगरपालिका–३ सिमलगैह्रा भजन किर्तन समूह, व्यास नगरपालिका–५ सिन्धु सांस्कृतिक भजन समूह, व्यास नगरपालिका–१ नवआदर्श आमा समूह, व्यास नगरपालिका–३ व्यासज्योति धर्म जागरण भजनकिर्तन समूह, व्यास नगरपालिका–३ पतञ्जली योग समिति आरोग्य केन्द्र र व्यास नगरपालिका–५ महर्षि वेदव्यास वेदविद्याश्रम बटुक समूहको सहभागिता रहेको ।
विशेषगरी जलेश्वर संस्कृत भजन समूहको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बन्यो । उनीहरूले व्यास र पराशर ऋषिको उत्पत्तिका विषयलाई भजन र अभिनयको संयोजनमार्फत् प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध बनेका थिए ।
प्रतियोगितामा जलेश्वर भजन समूह प्रथम, व्यासज्योति धर्म जागरण भजनकिर्तन समूह द्वितीय, आदिकवि भानुभक्त मावि तृतीय र नवआदर्श आमा समूह सान्त्वना भएको निर्णायक समितिका संयोजक ऋषिराम ढुङ्गानाले जानकारी दिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले भजन जस्तो मौलिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । “हामीले परम्परा जोगाउन सकेनौं भने हाम्रो पहिचान नै हराउने खतरा हुन्छ,” उनले भने ।
पछिल्लो समय आधुनिकता र प्रविधिको प्रभावसँगै भजन संस्कृति क्रमशः हराउँदै गएको अवस्थामा यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा चासो जगाउने विश्वास गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले बताए ।