


दमौली, २४ वैशाख । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई सप्तधामको रुपमा विकास गर्ने कार्यको सुरुवात भएसँगै स्थानीयवासी खुसी भएका छन् । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्दै साहित्यिक पर्यटनको केन्द्र बनाउने उद्धेश्य राखिएको छ ।
यस ठाउँलाई साहित्यिक पर्यटनको केन्द्र बनाउँदै सप्तधामको रुपमा विकास गर्न शहरी विकास मन्त्रालयको आर्थिक लगानीम भानु साहित्य उद्यान निर्माणको काम सुरु भएको छ । उक्त कार्यको सुरुवात भएसँगै यहाँका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
स्थानीय सन्देश आचार्यले भानु साहित्य उद्यानले समग्र भानु क्षेत्रकै विकास हुने बताए। स्थानीय व्रतराज आचार्यले लामो समयदेखिको प्रयास सार्थक हुने चरणमा पुगेको भन्दै भानु साहित्य उद्यान भानुभक्तको जन्मथलोको विकासका लागि कोसेढुङ्गा हुने बताए।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन भइ काम सुरु भएको जानकारी दिए । भानु साहित्य उद्यान निर्माणका लागि बोलपत्र आव्हान भएर मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा गरिने उनले बताए । उनले भने, “आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भानुघर निर्माणका लागि बजेट प्रस्ताव गरिएको छ ।”
बोहोराले भानु साहित्य उद्यान भौतिक संरचना मात्रै नभई भाषा, साहित्यको महत्वपूर्ण केन्द्रको रुपमा विकास हुने अपेक्षा गरिएको बताए। भानु नगरपालिकाबाट चार सय ३५ रोपनी जग्गा अधिग्रहण भएपछि काम सुरु भएको बताउँदै उनले भने, “नयाँ शहर आयोजनाको प्राविधिक सहयोगमा गुरुयोजनाको अन्तिम प्रारुप तयार भएको छ ।”
उनका अनुसार चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा भानु भवन निर्माण गरिनेछ । सो भवन परम्परागत गोलघर शैलीमा निर्माण गरिने र उक्त घरमा भानुभक्त आचार्यका जीवनीको सम्पूर्ण पक्षलाई चित्राङ्करण गरी उहाँको जीवनी र स्मृतिलाई सम्बन्धित सामग्रीको चित्रकृति राख्ने प्रस्ताव गरिएको उनले उल्लेख गरे ।
उक्त भवनको माथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिनेछ । गुरुयोजना अनुसार दक्षिण दिशामा नेपाल र नेपालीका विविध भाषा, साहित्यिक स्रष्टाको मूर्ति निर्माण गर्न मूतिवाटिका निर्माण गरिनेछ । मूर्तिवाटिकाको तल भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र निर्माण गरिने उनले बताए ।
यस्तै नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने सप्तधाम निर्माण गरिने बताउँदै उहाँले चुँदीरम्घा हुँदै शिखरकटेरीसम्म पुग्ने सडक स्तरोन्नति, सुविधासम्पन्न सिढी निर्माण गर्ने गुरुयोजनामा समेटिएको जानकारी दिए।
गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट अनुमान गरिएको छ । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले गुरुयोजना कार्यान्वयनका लागि चार सय ३५ रोपनी जग्गा अधिग्रहण गरिएको जानकारी दिए।
सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भ अनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडी बढेका छौ ।”
रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्नु यसको उद्धेश्य रहेको त्रिपाठीको भनाइ छ ।
भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार पाँच सय खर्च भएको जनाइएको छ ।