


काठमाडाै, २४ वैशाख । रेड नेचर, ब्लु नेचर, वाइल्डफायर, ब्लु स्पट र सिक्स टु नाइन लगायतका मदिरा ब्रान्ड उत्पादन गर्दै आएको माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीको वार्षिक साधारण सभाले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
सभा वैशाख २० गते लुम्बिनी हेरिटेज होटलमा सम्पन्न भएको कम्पनीले जनाएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। साथै उत्पादन क्षमता विस्तार गर्दै उद्योगमा स्वचालित प्रणाली लागू गर्ने योजना पनि अघि सारिएको कम्पनीले जनाएको छ। सभामा कम्पनीका चालिस युपी समूहअन्तर्गतका ब्रान्डहरूको समीक्षा गरिएको थियो।
कम्पनीका अनुसार छोटो समयमै ती ब्रान्डहरूले देशव्यापी बजार विस्तार गर्दै आफ्नै उपभोक्ता वर्ग निर्माण गर्न सफल भएका छन्। कम्पनीका अध्यक् सुभाष अमात्यषले बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियासँगै आगामी आर्थिक वर्षको सुरुवातमै २५ युपी तथा ३० युपी समूहअन्तर्गतका नयाँ ब्रान्ड विकासको काम सम्पन्न भइसकेको र ती उत्पादन बजारमा ल्याउन तयारी अवस्थामा रहेको जानकारी दिए। सभाबाट उत्पादन क्षमता वृद्धि, स्वचालित प्रणाली विस्तार, नयाँ उत्पादन प्रवर्द्धन तथा व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ।
साथै लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको कम्पनीले जनाएको छ। अध्यक्षले कम्पनीलाई अझ प्रतिस्पर्धी बनाउँदै गुणस्तर, नवीनता र दीर्घकालीन व्यावसायिक विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे। कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, व्यावसायिक साझेदार तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।