


दमौली, २५ वैशाख । तनहुँका दशमध्ये भानु नगरपालिकाबाटै जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह सुरु हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तनहुँको भानु नगरपालिकाबाट उक्त सेवा प्रवाहका लागि स्वीकृती दिएको छ ।
मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न आसयपत्र पेश गर्ने दुई सय १४ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ३५ वटा स्थानीय तह छनोट गरेको छ । छनोट भएका पालिकाहरुका सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको समन्वयमा सेवा प्रवाह गरिनेछ ।
गण्डकी प्रदेशमा तनहुँको भानु नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिका, गोरखाको पालुङटार नगरपालिका छनोट भएका छन् ।
स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न छनोट भएका स्थानीय तहबाट सेवा प्रवाह गर्दा आवश्यक पर्ने पूर्वाधार तथा आवश्यक जनशक्तिको व्यवस्था भए नभएको वा व्यवस्था हुन सक्ने अवस्था रहे वा नरहेको सम्बन्धमा सातदिनभित्र भूमि व्यवस्थापन तथा अभिलेख विभाग मार्फत् प्रतिवेदन पेश गर्न भनिएको छ ।
यस्तै स्थानीय तहबाट सेवा प्रवाहको सुरुवात गर्दाका बखत आउन सक्ने असहजतालाई समाधान गर्नका लागि सम्बन्धित क्षेत्रको भूमि प्रशासन कार्यालय र नापी कार्यालयमा कार्यरत कर्मचारीमध्ये उक्त कार्यालयले पूर्ववत प्रदान गर्दै आएको सेवालाई नकारात्मक असर नपर्ने गरी केही समयसम्मका लागि सम्बन्धित स्थानीय तहमा नै रही समन्वय र सहजीकरणका लागि कर्मचारी परिचालन गर्ने निर्णय भएको छ ।
उक्त सेवा अन्तर्गत स्थानीय तहमा भूमि व्यवस्थापन शाखा गठन गरिनेछ । उक्त शाखा अन्तर्गत भूसेवा केन्द्र तथा कागजात परीक्षण फाँट, लिखित रजिष्ट्रेशन तथा जग्गा प्रशासन फाँट, नक्सा अद्यावधिक फाँट, तामेली फाँट रहनेछन् ।