खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८३, शनिबार

    दमौली, २६ वैशाख । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दए उनले खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता राखेको बताइन् ।

    भलिबल राष्ट्रिय खेल मात्र नभएको चर्चा गर्दै मन्त्री गुरुङले यो युवाहरुको भावना, अनुशासन, सङ्घर्ष र एकताको प्रतिक पनि भएको उल्लेख गरिन । विशेषगरी गण्डकी प्रदेश भलिबलका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उर्वर भूमि भएको बताउँदै उनले धेरै प्रतिभा हुँदाहुँदै पनि प्रदेशका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अपेक्षाकृत पुग्न नसकेको बताइन् ।

    खेल क्षेत्रलाई केबल प्रतियोगितामा मात्र सीमित नराखी खेलाडीको भविष्यसँग जोडेर हेर्न आवश्यक रहेको बताउँदै मन्त्री गुरुङले भनिन्, “धेरै खेलाडीहरु आर्थिक असुरक्षा, भविष्यको अन्योलका कारण खेल छाड्न वा विदेशिन बाध्य छन् । यो अवस्थाको अन्त्यका लागि सरकार खेल क्षेत्रको विकास र खेलाडीको हितप्रति संवेदनशील छ ।”

    मन्त्री गुरुङले खेलाडीको प्रोत्साहन, प्रशिक्षण, अवसर र सामाजिक सुरक्षाका विषयलाई गण्डकी प्रदेशमा नीति तथा कार्यक्रममै समेटिने प्रतिबद्धता व्यक्त गरिन् ।

    गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले खेल खेलेरै खेलाडीको आर्थिक स्तर उकास्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा खेलकुद पूर्वाधार अभावमा खेलाडीले खेल प्रदर्शन गर्न नसकेको बताउँदै प्रदेश सरकारले प्रत्येक जिल्लामा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।

    जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले तनहुँ खेलकुदको हब बनिरहेको उल्लेख गर्दै अब तनहुँमा आधुनिक खेलमैदान निर्माण गर्नका लागि सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि पहल गरिने बताए । यहाँ पर्याप्त जग्गाहरु रहेकाले आधुनिक खेलमैदान निर्माण गर्न सकिने उनले उल्लेख गरे ।

    निकट भविष्यमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता आइतबार सकिनेछ ।

    छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ ।

    प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ ।