


एजेन्सी, २७ वैशाख। चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मार्कस रासफोर्ड र फेरान टोरेसको गोलको मद्दतले बार्सिलोनाले २०२५–२६ सिजनको उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको सुरुवाती नवौँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना आएका रासफोर्डले सुन्दर फ्रिकिकमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि अर्थात् खेलको १८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
यो जितसँगै बार्सिलोनाले आफ्नो २९औँ ला लिगा उपाधि जितेको छ। खेल अवधिभर बार्सिलोनाले रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । बार्सिलोनाले ७ वटा सट लक्ष्यमा प्रहार गर्दा रियल म्याड्रिडले भने मात्र एक सट प्रहार गर्न सकेको थियो ।
यो जित बार्सिलोनाका लागि ऐतिहासिक रहेको छ किनकि उनीहरूले आफ्नो घरेलु मैदानमा लगातार १८औँ एल क्लासिको जित दर्ता गरेका छन् ।