


दमौली, ३० वैशाख । तनहुँको म्याग्दे गाउँपालिकामा कृषक तथा उद्यमीले उत्पादन गरेका सामग्रीको प्रदर्शन आयोजना गर्ने भएको छ । गाउँपालिकाले सातवटै वडामा जेठ १ गतेदेखि ११ गतेसम्म कृषि, पशु, उद्यम एवं सबै प्रकारका उत्पादनहरुको प्रदर्शनी आयोजना गर्न लागेको हो ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गाउँपालिकाको आयोजना र वृद्धिमुखी संस्थाको सहकार्यमा उद्यमी तथा कृषकले उत्पादन गरेका सामानको बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कृषकले स्थानीय स्तरमा उत्पादन गरेका तरकारी, फलफूल, लोकल कुखुरा, केरा, स्थानीय रैथाने जातका सामानहरु, खसीबोका र स्थानीय महिलाले सीपमूलक तालिमबाट उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिनेछन् ।
महिलाहरुले सीपमार्फत सिकेको सीपलाई अधिकतम रुपमा प्रयोग गर्ने र उत्पादन भएका सामानलाई एउटै छातामुनि प्रर्दशन गरी आम्दानी गर्ने स्रोतको रुपमा यस प्रदर्शनीलाई लिइएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।
उत्पादनको प्रदर्शनी म्याग्दे गाउँपालिकाको वडा नम्बर १ को गुणादीको वाराही महिला सहकारीको भवनमा जेठ १ गते, वडा नम्बर २ को जामुने सहकारीको भवन अगाडी जेठ २ गते, वडा नम्बर ३ को धयरे बजारमा जेठ ५ गते, वडा नम्बर ४ को जनसेवा सहकारी भवनको थर्पु बजारमा जेठ ६ गते प्रदर्शनी गरिनेछ ।
वडा नम्बर ५ को थाङ्दी बजारमा जेठ ७ गते, वडा नम्बर ६ को अकला मन्दिरमा जेठ ९ गते र वडा नम्बर ७ को वडा कार्यालयमा जेठ ११ गते प्रदर्शनी गरिनेछ ।
गाउँपालिकाको ७ वटै वडामा आयोजना गरिएको यस्तो प्रर्दशनीले कृषक तथा उत्पादन गर्ने उद्यमीमा उत्साह बढ्ने र प्रभाबकारी हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।
वृद्धिमुखी उत्पादन तथा रोजगारी प्रवद्र्धनका लागि गाउँपालिकामा छनोट भएका १५ जना उद्यमी र अन्य गाउँपालिकामा व्यवसाय गरेका कृषि, पशु तथा अन्य उद्यमी प्रदर्शनीमा सहभागी हुने जनाइएको छ ।