तनहुँ-२ का सांसद न्यौपाने भन्छन् – अधुरा योजना अब पूरा हुँदैछन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-२ का सांसद न्यौपाने भन्छन् – अधुरा योजना अब पूरा हुँदैछन्

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८३, बिहीबार

    दमौली, ३१ वैशाख । तनहुँ-२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले क्षेत्रका वर्षौँदेखिका अधुरा पूर्वाधार योजनाहरू अब कार्यान्वयनको चरणमा पुग्न लागेको बताएका छन्।

    सांसद न्यौपानेले कृष्णमार्ग, श्रृङ्गपथ तथा दुलेगौंडा–हर्कपुर मोटरमार्ग निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै लामो समयदेखि कानुनी जटिलता र प्रक्रियागत अवरोधका कारण रोकिएका योजनाहरू समाधानतर्फ अघि बढिरहेको बताए।

    उनले निर्वाचनका क्रममा गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारीका साथ संघीय संसदमा सक्रिय रहेको जनाउँदै विकास निर्माणका काम अदालत वा कानुनी प्रक्रियामा अल्झिएर रोकिन नदिन आवश्यक कानुनी व्यवस्था निर्माण सम्पन्न भएको जानकारी दिए।

    उनका अनुसार नयाँ कानुनी व्यवस्थाले यस्ता महत्वपूर्ण पूर्वाधार योजनालाई निरन्तरता दिन सहज वातावरण तयार गरेको छ। आगामी आर्थिक वर्षभित्र यी तीनवटै सडकसहित थप केही योजनालाई निर्माण प्रक्रियामा अघि बढाउने लक्ष्यसहित पहल जारी रहेको उनले बताए।

    जेठ १५ गते प्रस्तुत हुने बजेट तथा त्यसपछिको ‘रातो किताब’ मार्फत सकारात्मक समाचार आउनेमा आफू आशावादी रहेको सांसद न्यौपानेको भनाइ छ।

    उनले तनहुँ–२ का नागरिकलाई केही समय धैर्य गर्न आग्रह गर्दै जनताको अपेक्षा, विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको बताए। “अधुरा विकासका सपना अब धेरै समय अधुरा रहने छैनन्,” उनले भने।