


दमौली, ५ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी पूर्ण अपाङ्गता भएका दीपकप्रसाद भण्डारीले प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष भेटघाटको व्यवस्था मिलाइदिन माग गर्दै निवेदन सार्वजनिक गरेका छन्।
२०६६ सालमा दुर्घटनामा परेर पूर्ण रूपमा अशक्त बनेका भण्डारीले आफू चौबिसै घण्टा अरूको सहारामा बाँच्न बाध्य रहेको उल्लेख गरेका छन्। उनले आफ्नो दैनिक जीवन अत्यन्त कष्टकर बनेको र यस अवस्थाले परिवारसमेत निरन्तर पीडामा रहेको बताएका छन्।
भण्डारीले अपाङ्गता हुनुअघि र त्यसपछिसमेत राज्यप्रति आफ्नो दायित्व पूरा गर्दै कर तिर्दै आएको उल्लेख गर्दै राज्यले निर्माण गरेको अपाङ्गता सम्बन्धी नियमावलीअनुसार पाउनुपर्ने आवश्यक सेवा–सुविधा भने अहिलेसम्म प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। पटक–पटक स्थानीय तथा संघीय सरकारसमक्ष निवेदन गर्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ।
उनले अब आफ्नो एक मात्र विकल्प “इच्छामृत्यु” भएको भन्दै प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्नो पीडाको वास्तविक अवस्था अवगत गराउन चाहेको बताएका छन्। “प्रधानमन्त्रीज्यू एकपटक मेरो ठाउँमा रहेर मेरो पीडाको महसुस गरिदिनुहोस्,” भन्दै उनले आफू र आफूजस्ता कठिन परिस्थितिमा बाँच्न बाध्य अपाङ्गता भएका नागरिकका लागि सहज जीवनयापनको व्यवस्था गरिदिन आग्रह गरेका छन्।
भण्डारीले प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादमार्फत आफू र आफू जस्ता पीडित व्यक्तिहरूको हितका लागि आवश्यक सेवा–सुविधाको समुचित प्रबन्ध मिलाउने विषयमा सर्वमान्य समाधान खोज्न चाहेको उल्लेख गरेका छन्।
उनले आफ्नो निवेदन प्रधानमन्त्रीसमक्ष पुर्याउन सहयोग गरिदिन सबै सरोकारवाला र शुभेच्छुकसँग अनुरोध गरेका छन्। साथै उनले भेटवार्तामा “इच्छामृत्यु” सम्बन्धी सहमति भए नेपालको इतिहासमा स्वैच्छिक मृत्युवरण गर्नेको सूचीमा पहिलो नाम आफ्नो रहोस् भन्ने भावनात्मक इच्छा व्यक्त गरेका छन्।