दमौली बजारमा पार्किङको नयॉ नियम लागु गरिदै, सफा सडकमा पार्किङ पूर्ण निषेध (विस्तृतमा)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली बजारमा पार्किङको नयॉ नियम लागु गरिदै, सफा सडकमा पार्किङ पूर्ण निषेध (विस्तृतमा)

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८३, बुधबार

    दमौली, ६ जेठ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र बजार सुरक्षालाई थप व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा बुधबार व्यास नगरपालिका सभा कक्षमा बसेको बैठकले बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सवारी सञ्चालन, सीसीटीभी निगरानी र सडक सुरक्षासम्बन्धी निर्णय सार्वजनिक गरेको हो।

    बैठकले दमौली बजारमा जथाभावी पार्किङका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै बजार सुरक्षाका लागि जडान गरिएका सीसीटीभी, जेब्रा क्रसिङ र फुटपाथ व्यवस्थापनको समीक्षा गरेको छ। निर्णयअनुसार नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बिग्रिएका सीसीटीभी मर्मत तथा आवश्यक स्थानमा नयाँ क्यामेरा जडान गर्नेछ भने निगरानीको जिम्मा जिल्ला प्रहरी कार्यालयले लिनेछ।

    पृथ्वी राजमार्ग पुनःनिर्माणसँगै सर्भिस लेन व्यवस्थापनलाई प्रभावकारी बनाउन जेठ १० गतेदेखि १५ दिन परीक्षणका रूपमा नयाँ ट्राफिक योजना लागू गरिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्लासले बताए । सो अवधिमा सफा सडकमा सबै प्रकारका सवारी पार्किङ पूर्ण रूपमा निषेध गरिनेछ। विकल्पस्वरूप शाखा सडक, चोक, नगरपालिकाको पार्किङ ग्राउन्ड र अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङ व्यवस्था मिलाइनेछ।

    विभिन्न रुटका बस, माइक्रो, म्याजिक, जीप तथा अटोका लागि छुट्टाछुट्टै ‘पिकअप–ड्रप’ समय तोकिएको छ। अधिकांश सवारीलाई बसपार्कमा पठाइने र चोकहरूमा सीमित समयका लागि मात्र यात्रु चढाउने–ओराल्ने व्यवस्था मिलाइनेछ।

    त्यसैगरी ट्राफिक चोक, साँगे चोक, गणेशमान चोक, न्युरोड लगायतका क्षेत्रमा सवारी ‘क्यू’ व्यवस्थापन कडाइ गरिनेछ। अटो रिक्सा समेत निश्चित संख्यामा मात्र चोकहरूमा राख्न पाइनेछ।

    नगरपालिकाले केही सडकलाई एकतर्फी बनाउने निर्णय पनि गरेको छ। वडा नं. २ को पृथ्वी राजमार्गबाट ग्रिन सिटी टोल हुँदै भेटघाट चोक जाने सडक, वडा नं. ३ तर्फ तरकारी लाइन हुँदै महर्षि चोक जाने सडक तथा पुरानो बैंक लाइन–कालिका मार्ग क्षेत्रलाई एकतर्फी बनाइने भएको छ।

    विद्यालय र सरकारी कार्यालय सञ्चालन हुने सोमबारदेखि शुक्रबारसम्म बिहान ८ः३० देखि १०ः१५ बजेसम्म र साँझ ३ः३० देखि ५ः१५ बजेसम्म सफा सडक, ग्रिनसिटी टोल, गणेशमान चोक, अमरापुरी सत्यवती विद्यालय तथा सरकारी कार्यालय आसपासका क्षेत्रमा मालवाहक, ट्र्याक्टर तथा हेभी सवारी प्रवेशमा रोक लगाइनेछ।

    बैठकले सडक पेटीमा सामान राखेर व्यापार गर्ने कार्य हटाउने, करङ्गस्थित बसपार्कमा बत्ती, खानेपानी र शौचालय व्यवस्थापन गर्ने, भोर्लेटार चोक र व्यास चोकमा ट्राफिक पोस्ट तथा सीसीटीभी जडान गर्ने तथा बसपार्कमा टिकट काउन्टरका लागि नगरपालिका भवन उपलब्ध गराउने निर्णय पनि गरेको छ।

    यस्तो छ पार्किङ सम्बन्धि नयॉ नियम

    क) सफा सडकमा दुई तर्फि वाटो चालु हुने हुदाँ सवै सवारी साधनको पार्किङ निषेध गर्ने। विकल्पमा शाखा सडक, चोक. नगरपालिकाको पार्किङ ग्राउण्ड, अनशन चौतारी क्षेत्रमा निःशुल्क व्यवस्थापन गर्ने ।

    पृथ्वी राजमार्ग तर्फः-

    ख) व्यास ४ भोर्लेटार चोक सबलेनमा परेवा डाँडा सम्म चल्ने म्याजिक, दुईपिप्ले शिसाघाट सम्म चल्ने ४ पाङ्ग्रे मिनिबस, पुलिमर्याङ चल्ने बस लगाएत लम्जुङको भोर्लेटार, सोतिपसल, जिता, कुन्छा चल्ने ठूला सवारीहरुलाई आउदाँ बाघभञ्ज्याङ हुदै सिमलटार तिर बाट बसपार्कमा आउने र जाँदा चौतारी होटल चोकमा १/१ वटा लाई १५/१५ मि. बस्न दिने।

    ग) भोर्लेटार चोक स्थित राजमार्गमाः दमौली देखि काठमाण्डौ चल्ने माईक्रो र दमौली देखि मुग्लिन सम्म चल्ने बस बसपार्कमा पठाउने र जाने वेला ५ मि. पिकअप गर्न दिने।

    घ) व्यास २ स्थित भोर्लेटार चोक राजमार्गमाः काठमाण्डौ लगाएत अन्य विभिन्न पूर्वी खण्डवाट आउने छोटो तथा लामो दुरीका सवै सवारीलाई यात्रु चढाउने र ओराल्ने गरी २ मि. पिकअप/ड्रप गर्न समय दिने।

    ङ) व्यास २ भोर्लेटार चोक नमुना टोल सवलेनमाः- स्थानीयको साना सवारी, तालघरे, डिहिगाँउ, घाँसीकुवा हुदै व्यास १०,११ का विभिन्न स्थानमा छुट्ने म्याजिक तथा वस क्यू थाप्ने गरि बसपार्क पठाउने र जाने वेलामा १/१ वटालाई मात्र आउन दिई २ मि. पिकअप गर्न दिने।

    च) ट्राफिक चोकमाः- स्थानीय यातायातका दमौली पोखरा चल्ने माइक्रो, ट्याक्सी क्यू थाप्ने गरेकोमा अव देखी १/ १ वटा मात्र क्यू थाप्न दिने बाँकी वसपार्क पठाउने।

    व्यास ३ साँगे चोकमाः- तरकारी लाईनको पूर्व तर्फ दमौली पोखरा चल्ने बस क्यू थाप्ने गरि पश्चिम तर्फबाट व्यास ५ र ६ का विभिन्न स्थानमा चल्ने म्याजिक र ठूला सवारी साधनलाई अव देखी १/१ वटा मात्र दुर्गा मन्दिर पश्चिम क्यू थाप्ने गरी पठाउने र अरु बसपार्क पठाउने।

    ज) भित्री बजार तर्फः- व्यास ३ न्यूरोड व्यास नगरपालिकाको कार्यालयको भवन दक्षिण तर्फ पछाडीबाट रिसिङ, घिरिङ चल्ने जीप र माछापुच्छ्रे बैंक अगाडीबाट ठूला सवारी १/१ वटा मात्र क्यू थाप्न दिने वाँकी वसपार्कमा पठाउने।

    झ) व्यास २ गणेशमान चोकमा छाब्दी बाराही जाने म्याजिक लगाएत व्यास १३ र १४ तर्फ जाने ठूला सवारी १/१ वटा मात्र क्यू थाप्न दिने र बाँकी बसपार्कमा पठाउने ।

    ञ) अटोलाई उल्लेखित चोकहरुमा २/२ वटा र अनशन चौतारी चोकमा २ वटा मात्र राख्न दिने वाँकी वसपार्कमा पठाउने ।

    ट) वाँकी वस, माईक्रो, जीप, ट्याक्सी, अटो सवै वसपार्क लैजाने र हाईवेको सर्भिस लेनमा मोटरसाईकल लगाएत दुईपाङ्ग्रे सवारी पार्किङ गर्न नपाईने।

    ठ) कार्यालय र विद्यालय सञ्चालन हुने दिन सोमवार देखि शुक्रवार सम्म विहान ८:३० वजे देखि १०:१५ वजे सम्म र साँझ ३:३० देखि ५:१५ वजे सम्म सफा सडक, ग्रिन सिटी टोल हुदै गणेशमान चोक, अमरापुरी सत्यवती विद्यालय, सरकारी कार्यालय रहने क्षेत्रमा मालवाहाक गाडी, ट्रयाक्टर लगाएत हेभी गाडीहरु निषेध गर्ने।

    ड) एकतर्फी :- निम्न वमोजिमका सडकहरुलाई एकतर्फी गर्ने।

    ➤ वडा नं. २ को पृथ्वी राजमार्ग वाट ग्रिनसिटी टोल हुदै भेटघाट चोक जाने मात्र

    ➤ वडा नं. ३ तर्फ पृथ्वी राजमार्ग वाट तरकारी लाईन हुदै महर्षी चोक तर्फ जाने मात्र

    > पुरानो बैंक लाईन न्यूरोड चोकवाट कालिका मार्ग हुदै पृथ्वी राजमार्गमा निस्कने मात्र ४ पाङ्ग्रे गाडीलाई एकतर्फी प्रवेश दिने तर कुनैपनि सवारी पार्किङ गर्न नपाईने ।

    > प्रहरी कार्यालयको दक्षिण पश्चिम तर्फको चोकवाट पृथ्वी राजमार्ग दुर्गा मन्दिर तर्फ निस्कने मात्र एकतर्फी गर्ने र सो सडकमा कुनैपनि सवारी पार्किङ गर्न नपाईने ।

    ढ) मानिस आवत जावत गर्नका लागि सवै पेटीहरु खुला राख्ने कतिपय व्यवसायीहरुले सडक पेटीमा सामान राखि विक्री गर्ने गरेको पाईएकाले पूर्णत हटाउने।

    ण) व्यास १ करङ्ग काठमा रहेको वसपार्कमा वत्ति व्यवस्थापन, खानेपानी व्यवस्थापन, शौचालय व्यवस्थापन मिलाउने कार्यमा व्यास नगरपालिकाले जिम्मा लिने।

    त) पृथ्वी राजमार्ग अन्तर्गत भोर्लेटार चोकका व्यास चोकमा ट्राफिक पोष्ट, सिसिटिभी क्यामेरा, वत्ती व्यवस्थापन गर्ने गराउने।

    थ) नो पार्किङ सम्बन्धी आवाश्यक सामाग्री व्यवस्थापन नगरपालिका तर्फवाट गरी ट्राफिक प्रहरीलाई दिने।

    द) बसपार्कमा टिकट काउण्टरका लागि न.पा.ले भवन कोठा उपलब्ध गराउने ।