



दमौली, ९ जेठ । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र शारीरिक गतिविधिको कमीका कारण मानिसमा हृदयघात, मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगको जोखिम बढ्दो छ। यस्ता रोगहरूबारे समयमै जानकारी नहुँदा र सामान्य लक्षणलाई बेवास्ता गर्दा धेरै मानिसले अकालमा ज्यान गुमाउनु परेको छ।
पछिल्लो समय दमौली लगायत विभिन्न क्षेत्रमा नसर्ने रोगका कारण अकालमै ज्यान गुमाउनेहरूको संख्या बढ्दै जान थालेपछि परिवार मात्र होइन, समग्र समाज नै चिन्तित बन्न पुगेको छ। नसर्ने रोगका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले व्यास १ स्थित एकता महिला सशक्तीकरण सञ्जालले शनिबारबाट २ दिने हृदयघात, प्राथमिक उपचार, नसर्ने रोग तथा महिला प्रजनन स्वास्थ्य अधिकारसँग सम्बन्धित कानुनी विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
अनियमित जीवनशैली, अस्वस्थ खानपान, धूम्रपान, मदिरा सेवन, तनाव तथा शारीरिक अभ्यासको कमी नसर्ने रोगका प्रमुख कारणका रूपमा देखिएका छन् । नसर्ने रोग लाग्नबाट बच्न र नसर्ने रोगका कारण कुनै पनि परिवारले पारिवारिक क्षति बेहोर्न नपरोस् भन्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको एकता महिला सशक्तिकरण सञ्जाल तनहुँकी अध्यक्ष सविता पण्डितले बताइन्।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले हृदयघात, मधुमेह जस्ता नसर्ने रोगका बारेमा समुदायस्तरमै पुगेर स्वास्थ्यसम्बन्धी चेतना फैलाउने यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। न्यौपानेले व्यस्त जीवनशैलीका कारण धेरै मानिस स्वास्थ्यप्रति सचेत हुन चाहेर पनि नसकेको बताएका थिए।
व्यास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, आदिकवि भानुभक्त बहुमुखी क्याम्पस व्यास १ का अध्यक्ष केशबहादुर सुनार, नेपाल सोसाइटीका मन्त्री सुर्यचन्द्र हड्खले संस्थाकी उपाध्यक्ष अप्सरा रानाभाट लगायतले नसर्ने रोग लाग्नुभन्दा लाग्न नदिनका लागि आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रदेश अस्पताल दमौलीकी डाक्टर ममता न्यौपानेले स्वास्थ्य केवल व्यक्तिगत विषय मात्र नभई समग्र समाजको समृद्धिसँग जोडिएको आधार भरेको बताएकी थिइन् ।
कार्यक्रममा अधिवक्ता सरिता भण्डारीले महिला प्रजनन स्वास्थ्य अधिकारसँग सम्बन्धित कानुनी विषयका बारेमा प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा प्राथमिक उपचारको महत्त्वबारे पनि विशेष जोड दिइएको थियो। आकस्मिक अवस्थामा तत्काल गरिने प्राथमिक उपचारले मानिसको ज्यानसमेत बचाउन सक्ने भएकाले प्रत्येक नागरिकले आधारभूत प्राथमिक उपचारबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याइएको थियो।