


दमाैली, १० जेठ । अचार बनाउने सीप नेपालीको परम्परागत सीप हो। यही परम्परागत सीपलाई महिला उद्यमी संघ नेपाल तनहुँले आधुनिक उद्यमसँग जोड्ने प्रयास गरेको छ। संघले उद्यम गर्न चाहने महिलाहरूका लागि सात दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ।
संघले ३० जना महिलाहरूलाई तालिम दिइरहेको महिला उद्यमीसँग नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले बताइन् । दैनिक जीवनमा प्रयोग हुने अचारलाई केवल भान्साको स्वादमा सीमित नराखी आम्दानीको माध्यम बनाउन तालिमले दिएको मल्लको भनाइ थियो ।
व्यास नगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिमको आर्थिक उत्पादन र आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउने उद्देश्य रहेको मल्लले बताएकी छन् । महिला उद्यमी संघ नेपाल तनहुँकी महासचिव सरु श्रेष्ठले अचार बनाउने तालिमले महिलामा उत्साह थपेको बताइन् ।
बिहीबारबाट सुरु भएको तालिमको व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्षले उद्घाटन गरेका थिए। श्रेष्ठले महिलामा रहेको सिर्जनशीलता र मेहनतलाई आर्थिक अवसरसँग जोड्ने लक्ष्यका साथ तालिम सञ्चालनमा आर्थिक सहयोग गरेको बताएका थिए। तालिमकी प्रशिक्षक तुलसी शाहले स्थानीय स्तरमै उपलब्ध कृषि उत्पादन प्रयोग गरेर व्यवसाय सुरु गर्न सकिने भएकाले सहभागी महिलाहरू अचार बनाउने तालिमतर्फ उत्साहित भएको बताएकी छन् ।
तालिममा गुन्द्रुक, भट्ट, मेथी,आलस, मासु, मुला र गाजर लगायतका विभिन्न प्रकारका अचार बनाउने तरिका, गुणस्तर कायम गर्ने विधि, सरसफाइ, प्याकेजिङ तथा बजार व्यवस्थापनका विषयमा व्यावहारिक जानकारी दिइएको छ। सीपसँगै आत्मविश्वास बढाउने यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बन्न प्रेरणा दिएको सहभागीहरूको भनाइ छ। सानो लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने भएकाले अचार बनाउने तालिम उपयोगी भएको उनीहरूको भनाइ थियो।