


दमाैली १५ जेठ । सरकारले पर्यटन प्रवद्र्धन तथा साहसिक पर्यटन विकासलाई लक्षित गर्दै तनहुँमा साइकल ट्रेल निर्माण गर्ने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले परीक्षणका रूपमा व्यास–छाब्दीबाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट रुटमा साइकल ट्रेल निर्माण गरिने जानकारी दिनुभयो ।
उहाँले प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा सांस्कृतिक विविधताले भरिपूर्ण यस क्षेत्रलाई साहसिक तथा ग्रामीण पर्यटनसँग जोड्दै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
घोषित साइकल ट्रेलले तनहुँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एउटै रुटमार्फत जोड्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ । विशेषगरी बन्दीपुर, छिम्केश्वरी र देवघाटजस्ता चर्चित गन्तव्यलाई समेटिएको यस रुटले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकसाथ प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले साइकल ट्रेल निर्माणले ग्रामीण पर्यटन, होटल व्यवसाय, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने बताएका छन् । साथै पर्यावरणमैत्री पर्यटन प्रवद्र्धनमा समेत यस्तो अवधारणाले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले बताउनुभयो ।
कृष्ण न्यौपाने
९८५६०६०४१४
पचष्कजलबमm२िनmबष्।िअयm