


दमौली, १९ जेठ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दुलेगौंडा शाखा कार्यालयद्वारा मृत्यु दाबी भुक्तानी गरिएको छ। स्वर्गीय बीमित दिनेश बहादुर भुजेल थापाको बीमा बापतको मृत्यु दाबी रकम रु १२ लाख ३४ हजार हकवाला भिम बहादुर घर्तीलाई हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, दुलेगौंडा शाखा प्रमुख सुनिल तिमिल्सिना, अभिकर्ताहरू, शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेलले आजको बदलिँदो परिवेशमा प्राकृतिक विपत्ति, सडक दुर्घटना, स्वास्थ्य जोखिम तथा आर्थिक अनिश्चितता बढ्दै गइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा बीमा केवल विकल्प नभई आवश्यकता बनेको बताए ।
उनले सरकारका लागि आर्थिक दायित्व व्यवस्थापन, व्यवसायीका लागि जोखिम हस्तान्तरण तथा नागरिकका लागि भविष्य सुरक्षित गर्ने सबैभन्दा प्रभावकारी माध्यम बीमा नै भएको धारणा व्यक्त गर्दै जीवनमा आइपर्न सक्ने अप्रत्याशित परिस्थितिको सामना गर्न प्रत्येक व्यक्तिले आफ्नो क्षमता र आवश्यकताअनुसार बीमा गर्नुपर्नेमा जोड दिए।
दुलेगौंडा शाखा प्रमुख सुनिल तिमिल्सिनाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमित तथा उनीहरूको परिवारप्रति उत्तरदायी रहँदै छिटो, सरल र प्रभावकारी रूपमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको बताए । उनले जीवन बीमा बचत, सुरक्षा र भविष्यप्रतिको जिम्मेवारीको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै बीमाप्रति सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिए।
बीमित स्वर्गीय दिनेश बहादुर भुजेल थापाले आफ्नो बीमा योजनाको चार किस्ता मात्र भुक्तानी गरेको अवस्थामा असामयिक निधन भएको भए पनि कम्पनीले सम्झौताअनुसार पूर्ण मृत्यु दाबी रकम भुक्तानी गरेको हो। साथै उनले सिटिजन लाइफ इन्स्योरेन्सको DSA (Double Sum Assured) सुविधा सहितको बीमा योजना लिएको हुँदा उक्त बीमा योजनाको अवधि पूरा भएपछि थप रु १० लाख प्राप्त हुने व्यवस्था रहेको जानकारी कार्यक्रममार्फत दिइएको थियो।