


दमौली, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तनहुँको दमौलीस्थित बाघभञ्ज्याङ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ।
कर्मचारी मिलन केन्द्र, तनहुँको आयोजनामा भएको कार्यक्रममा केन्द्रका अध्यक्ष तथा डिभिजन वन अधिकृत मनोज रानाभाटको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका संरक्षक शिवलाल तिवारी, व्यास-४ वडाध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, बाघभञ्ज्याङ सामुदायिक वनका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, जिल्ला प्रहरी कार्यालयका नेपाल प्रहरी र वन रक्षक टोलीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षारोपणको महत्वबारे चर्चा गरिएको थियो।