दमौलीको ट्राफिक व्यवस्थापनबारे कार्यपालिकाको निर्णय, परीक्षणकालपछि थप निर्णय गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीको ट्राफिक व्यवस्थापनबारे कार्यपालिकाको निर्णय, परीक्षणकालपछि थप निर्णय गरिने

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८३, शनिबार

    दमौली, २३ जेठ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यसअघि गरिएको निर्णय कार्यान्वयनलाई निरन्तरता दिने भएको छ। शुक्रबार बसेको नगर कार्यपालिका बैठकले गत जेठ ५ गते ट्राफिक व्यवस्थापन सम्बन्धमा भएका निर्णयहरू कार्यान्वयन गर्ने तथा हाल सञ्चालनमा रहेको परीक्षणकाल समाप्त भएपछि आवश्यक थप निर्णय लिने निर्णय गरेको हो।

    नगरपालिकाले दमौली बजार क्षेत्रमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्ने उद्देश्यले जेठ १० गतेदेखि १५ दिनका लागि परीक्षणका रूपमा नयाँ ट्राफिक नियम लागू गरेको थियो। उक्त व्यवस्थाअनुसार सफासडक क्षेत्रमा सडकको दुवै किनारामा पार्किङ निषेध गरिएको थियो।

    तर दुवैतर्फ पार्किङमा रोक लगाएपछि व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका थिए। व्यापारीहरूले पर्याप्त वैकल्पिक व्यवस्था नगरी पार्किङ निषेध गर्दा ग्राहकको आवागमन प्रभावित भएको र व्यापार–व्यवसायमा नकारात्मक असर परेको गुनासो गरेका थिए।

    व्यापारीहरूको विरोधपछि नगरपालिकाले परीक्षणकाल सुरु भएको तेस्रो दिनमै नयाँ सूचना जारी गर्दै सफासडक क्षेत्रमा एकतर्फी पार्किङ गर्न पाइने व्यवस्था गरेको थियो।

    दमौली बजार क्षेत्रमा पार्किङ व्यवस्थापन र सवारी सञ्चालनको विषय पछिल्लो समय स्थानीय व्यवसायी, सर्वसाधारण तथा सरोकारवाला निकायबीच चासोको विषय बनेको छ।