


दमौली, २४ जेठ । तनहुँको व्यास नगरपालिका–६ स्थित मादी नदीमा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मादी नदीमा विद्युत् करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिइएको हो। नदी तथा जलचर संरक्षणसम्बन्धी कानुनी व्यवस्था विपरीत करेन्ट प्रयोग गरी माछा मार्ने कार्य गरेको पाइएपछि उनीहरूमाथि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई व्यास नगरपालिकामार्फत रु १० हजार जरिवाना गरिएको छ।
करेन्ट प्रयोग गरी माछा मार्ने कार्यले नदीमा रहेका अन्य जलचर, साना माछा तथा जैविक विविधतामा समेत गम्भीर असर पार्ने भएकाले यस्तो कार्य कानुनतः निषेध गरिएको छ। यसबाट नदी प्रणालीको प्राकृतिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पर्ने सरोकारवालाहरू बताउँछन्।