


दमौली, २६ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना भारतीय नागरिक घाइते भएका छन् ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बिआर १०एबि७७३९ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेहरुमा भारतको बिहार मधुबनी बस्ने ३७ वर्षीया आशादेवी, ४० वर्षीया मनिका देवी र कार चालक बिहार भगलपुर बस्ने २८ वर्षीय सोनु रहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
घाइतेहरुको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।