


दमौली, ८ असार । व्यास नगरपालिका–१ स्थित चारकुनेमा गत जेठ २८ गते आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाबिन्दुको समस्या पहिचान भएका २० जना जेष्ठ नागरिकलाई अपरेसनका लागि पोखरा पठाइएको छ।
व्यास नगरपालिकाको आयोजना तथा जलेश्वर जेष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरिएको शिविरमा मोतियाबिन्दु देखिएका जेष्ठ नागरिकहरूलाई उपचारका लागि सोमबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरा लगिएको हो।
अपरेसनका लागि प्रस्थान गरेका जेष्ठ नागरिकलाई व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीलगायतले स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै विदाई गरेका थिए ।
नगरपालिकाले जेष्ठ नागरिकहरूको सहज उपचार सुनिश्चित गर्न यातायात, खाना, बसोबास तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको सम्पूर्ण व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।
जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमबाट दृष्टि समस्याबाट पीडित वृद्धवृद्धाहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।