


दमौली, २६ साउन । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालनमा रहेको खैरेनीटार उपवितरण केन्द्रलाई पूर्ण क्षमताको शाखाका रूपमा स्तरोन्नति गर्न माग गरिएको छ।
शुक्लागण्डकी नगरपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग भेट गरी उपवितरण केन्द्रको स्तरोन्नतिसँगै जीर्ण विद्युत् पूर्वाधारको मर्मत तथा फेरबदल गर्न आग्रह गरेको हो।
नगरपालिकाका अनुसार क्षेत्रमा गाडिएका विद्युत् पोलहरू काठका तथा जीर्ण अवस्थामा पुगेका छन्। नाङ्गा तथा कच्ची तारका कारण पटक–पटक विद्युत् सेवा अवरुद्ध हुनुका साथै स्थानीयको जिउधन र भौतिक सुरक्षामा समेत जोखिम बढेको जनाइएको छ। यस्तै, ट्रान्सफर्मरमा समेत समस्या देखिएको नगरपालिकाले जनाएको छ।
नियमित, भरपर्दो र सुरक्षित विद्युत् सेवा उपलब्ध गराउन खैरेनीटार उपवितरण केन्द्रको तत्काल स्तरोन्नति आवश्यक रहेको भन्दै नगरपालिकाले मन्त्रालयसँग आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।