


दमौली, २६ साउन । तनहुँका विभिन्न संघ–संस्थाले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
व्यास–३ निवासी माधवप्रसाद अधिकारीले ग्यास आपूर्ति सहज बनाउन माग गर्दै साउन २५ गतेदेखि व्यास–३ स्थित अनसन चोकमा सुरु गरेको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघ–संस्थाका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्रमा ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। साथै अनसनरत अधिकारीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, ग्यास तथा रासायनिक मलको सहज आपूर्ति, कालोबजारी र महँगी नियन्त्रण तथा जनताको मौलिक अधिकार सुनिश्चित गर्न सरकारको तत्काल ध्यान जानुपर्नेमा जोड दिइएको छ।
ध्यानाकर्षण पत्रमा एकदेव आले स्मृति प्रतिष्ठान, गैरसरकारी संस्था महासंघ तनहुँ, मानव अधिकार एलायन्स तनहुँ, राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघ तनहुँका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।