बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि व्यास नगर साइनिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि व्यास नगर साइनिङ

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८३, बुधबार

    दमौली, २७ साउन । ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि जेसीआइ व्यास नगरले एघारौ संस्करणको व्यास नगर साइनिङ स्टार आयोजना गर्ने भएको छ ।

    बालबालिकामा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै नेतृत्व र क्षमता विकास गर्ने उद्धेश्य सहित जेसीआइ व्यास नगरले साइनिङ स्टार गर्न लागेको हो ।

    साइनिङ स्टारको कार्यक्रम अन्तर्गत साउन ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दमौली माध्यमिक विद्यालय (दमौली कलेज)को प्राङ्गणमा अडिसन हुने साइनिङ स्टारका मूल संयोजक सुनिल श्रेष्ठले जानकारी दिए ।

    व्यास नगर साइनिङ स्टारलाई केवल प्रतियोगिताका रूपमा नभई बालबालिकाको प्रतिभा पहिचान र व्यक्तित्व विकासको अभियानका रूपमा अघि बढाइएको उनले बताए । उनले भने “हरेक बालबालिकाभित्र कुनै न कुनै प्रतिभा हुन्छ । त्यसलाई बाहिर ल्याउन सही मञ्च र अवसर आवश्यक हुन्छ । व्यासनगर साइनिङ स्टारले त्यही अवसर प्रदान गर्दै आएको छ ।”

    श्रेष्ठका अनुसार अडिसनबाट उत्कृष्ट २० जना प्रतियोगी छनोट गरी करिब एक महिनासम्म विशेष प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, नेतृत्व विकास, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, मञ्च प्रस्तुति, नृत्य, मञ्च तथा ¥याम्प प्रस्तुति, समूहगत कार्य, परियोजना कार्य, सामाजिक उत्तरदायित्व, वित्तीय साक्षरता, साइबर अपराधसम्बन्धी सचेतना, कृत्रिम बुद्धिमत्ता तथा शैक्षिक भ्रमणलगायतका विषय समेटिनेछन् ।

    “हाम्रो उद्धेश्य को पहिलो र को दोस्रो भयो भन्नेमा मात्र सीमित छैन । प्रतियोगिताबाट बाहिरिँदा हरेक बालबालिकाले नयाँ अनुभव, आत्मविश्वास, ज्ञान र जीवनोपयोगी सीप लिएर फर्कियोस् भन्ने हाम्रो चाहना हो,” श्रेष्ठले भने ।

    जेसीआइ व्यास नगरका अध्यक्ष अजर नागिलाले व्यास नगर साइनिङ स्टारको ११औँ संस्करणसम्मको यात्रा समुदाय, अभिभावक, विद्यालय र बालबालिकाले गरेको विश्वासको परिणाम भएको बताए । विगतका १० संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाएर यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाइएको उनले बताए ।

    “हामीले जितेका ट्रफीभन्दा ठूलो उपलब्धि प्रतियोगी बालबालिकामा आएको आत्मविश्वास र व्यक्तित्वमा आएको परिवर्तन हो,” अध्यक्ष नागिलाले भने, “व्यास नगर साइनिङ स्टार एउटा प्रतियोगिता मात्र होइन, बाल प्रतिभालाई अवसर र भविष्यलाई दिशा दिने अभियान हो ।”

    प्रतियोगिताको प्रतिभा छनोटमा बालबालिकाले वक्तृत्वकला, गायन, नृत्य, चित्रकला, अभिनय लगायतका प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगीहरूको परिचय तथा सञ्चार क्षमता, आत्मविश्वास तथा मञ्च उपस्थिति, प्रतिभा तथा प्राविधिक सीप, प्रस्तुति तथा सिर्जनशीलता, सामान्य ज्ञानलगायतका पक्षलाई मूल्याङ्कन गरिने आयोजकले जनाएको छ ।

    करिब एक महिनाको प्रशिक्षणपछि असोज ३ गते दिउँसो ३ बजेदेखि दमौली सभा हलमा अन्तिम प्रतिस्पर्धा आयोजना गरिनेछ । अन्तिम प्रतिस्पर्धामा प्रतियोगीको अन्तिम प्रस्तुतिसँगै प्रशिक्षण अवधिको प्रदर्शन, अनुशासन, गतिविधि र समग्र प्रगतिलाई समेत मूल्याङ्न गरिने जनाइएको छ ।

    प्रतियोगिताको मुख्य विजेताले उपाधिसहित नगद रु २६ हजार २६, प्रथम उपविजेताले रु १५ हजार २६ र द्वितीय उपविजेताले रु दश हजार २६ प्राप्त गर्नेछन् ।

    त्यसैगरी उत्कृष्ट व्यक्तित्व, उत्कृष्ट मञ्च प्रस्तुति, आकर्षक मुस्कान, उत्कृष्ट पोसाक, अनुशासन, उत्कृष्ट परियोजना प्रस्तुति, दर्शक छनोट, सामाजिक प्रभाव, आकर्षक तस्बिर तथा आत्मविश्वासी प्रस्तुतिलगायत विभिन्न विधामा विशेष उपाधि प्रदान गरिने आयोजकले जनाएको छ।

    जेसीआइ एकप्रसाद श्रेष्ठको परिकल्पनामा सुरु भएको व्यासनगर साइनिङ स्टार यस वर्ष ११औँ संस्करणमा प्रवेश गरेको हो । विगतका संस्करणमा सहभागी भएका बालबालिकाले विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको र उनीहरूमा देखिएको आत्मविश्वास तथा व्यक्तित्व विकासलाई कार्यक्रमको मुख्य उपलब्धिका रूपमा आयोजकले लिएको छ ।

    सन् १९९४ मा रामलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको जेसीआइ व्यास नगरले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, वातावरण संरक्षण, युवा नेतृत्व तथा व्यक्तित्व विकासलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।