बन्दीपुर अस्पतालबाट एकै वर्ष २४ हजारले लिए सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पतालबाट एकै वर्ष २४ हजारले लिए सेवा

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८३, शुक्रबार

    दमाैली २९ साउन । तनहुँको बन्दीपुर गाउँपालिका मातहत सञ्चालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष २०८२/८३ मा करिब २४ हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।

    शनिबार र सार्वजनिक बिदाका दिनमा समेत ३६५ दिन नै अस्पताल खुला राखेर सेवा प्रवाह गरिएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो।

    अस्पतालका प्रमुख डा. अनिल गिरीका अनुसार सो अवधिमा कूल २३ हजार ९८० जनाले सेवा लिएका छन्। जसमध्ये नियमित बहिरङ्ग (ओपीडी) सेवातर्फ १२ हजार १७१ र अतिरिक्त ओपीडी सेवातर्फ ११ हजार ८०९ जना रहेका छन्।

    अस्पतालले बिहान १० देखि दिउँसो २ बजेसम्म नियमित र बिहान ७ देखि १० तथा दिउँसो २ देखि राति ८ बजेसम्म अतिरिक्त सेवा प्रवाह गर्दै आएको छ।

    सार्वजनिक बिदा र शनिबारका दिनसमेत बिहान ७ बजेदेखि राति ८ बजेसम्म अस्पताल खुला रहने गरेको छ। विशेष गरी दैनिक ज्यालादारी मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा गृहिणीहरूलाई लक्षित गरी तीन चरणमा सेवा सञ्चालन गरिएकाले स्थानीयलाई ठूलो सहजता मिलेको डा. गिरीले बताए।

    अस्पतालको तथ्याङ्क अनुसार सबैभन्दा धेरै असारमा २ हजार ५०० र भदौमा २ हजार ३१५ जनाले सेवा लिएका छन्।

    यस्तै, साउनमा २ हजार ९९, असोजमा २ हजार १८५, जेठमा २ हजार २१ र कात्तिकमा १ हजार ९९६ जनाले उपचार गराएका थिए। अन्य महिनामा पनि औसत १ हजार ८ सयभन्दा बढीले सेवा लिएको अस्पतालले जनाएको छ।