


दमौली, २२ भदौ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
इकाइ सभापति शेषराज श्रेष्ठको नेतृत्वमा गएको टोलीले नुवाकोटको तार्केश्वर गाउँपालिका–२ र ४ तथा विदुर नगरपालिका–३ का बाढीपीडित परिवारलाई राहत वितरण गरेको हो।
दमौली बजारबाट संकलन गरिएको राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याइएको इकाइले जनाएको छ। पीडित परिवारलाई आवश्यक लत्ताकपडा, ग्यास तथा खाद्यान्नलगायतका सामग्री वितरण गरिएको इकाइ सचिव सिम्रन चन्द ठकुरीले जानकारी दिइन्।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले दमौली बजारका व्यवसायी तथा स्थानीयको सहयोगमा राहत संकलन गरी नुवाकोट पुर्याइएको उनले बताइन्।
इकाइ सभापति शेषराज श्रेष्ठले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताए। रसुवा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका परिवारको दुःख र कठिनाइलाई आफूहरूले नजिकबाट अनुभूति गरेको भन्दै उनले दमौली बजारबाट संकलन गरिएको राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउन पाउँदा खुसी लागेको बताए।
उनले भने, “विपद्को बेला पीडित परिवारलाई हामी साथमा छौँ भन्ने अनुभूति दिलाउनु नै ठूलो कुरा हो। दमौलीका व्यवसायी, स्थानीयवासी तथा सहयोगी मनहरूको साथ र सहयोगबाट संकलित राहत सामग्री नुवाकोटका प्रभावित परिवारसम्म पुर्याएका छौँ। यो सहयोग केवल राहत सामग्री होइन, पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीप्रतिको हाम्रो आत्मीयता र ऐक्यबद्धता पनि हो।”