दर खाने कार्यक्रम स्थगित गर्दै बाढीपीडितका लागि दशनामी समाज तनहुँको रु. ६४ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दर खाने कार्यक्रम स्थगित गर्दै बाढीपीडितका लागि दशनामी समाज तनहुँको रु. ६४ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८३, सोमबार

    दमौली, २२ भदौ । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति, तनहुँले बाढीपहिरो पीडितहरूको सहयोगार्थ यस वर्ष आयोजना गर्ने तयारी गरिएको महिला दिदीबहिनीहरूको ‘दर खाने कार्यक्रम’ स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६४ हजार ४५५ सहयोग गरेको छ।

    समाजले दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम तथा विभिन्न सहयोगदाताबाट प्राप्त सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।

    प्राकृतिक विपत्तिका कारण देशका विभिन्न स्थानमा नागरिकहरू पीडित भइरहेको कठिन परिस्थितिमा मनोरञ्जन तथा आपसी भेटघाटका लागि आयोजना गरिने कार्यक्रमलाई स्थगित गर्दै पीडितको राहत तथा सहयोगलाई प्राथमिकता दिइएको समाजले जनाएको छ।

    नेपाल दशनामी समाज जिल्ला कार्यसमिति, तनहुँले विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीप्रति सामाजिक उत्तरदायित्व र मानवीय भावना प्रकट गर्दै सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

    समाजले विपत्तिको घडीमा सानो–ठूलो सहयोगभन्दा पनि मानवीय एकता र सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै बाढीपहिरो प्रभावित नागरिकहरूको पीडा कम गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोगका लागि समेत आग्रह गरेको छ।